भर्खरका पोष्ट

इन्दिरा प्रयास
पूर्व जाउँ मेची रुन्छे,पश्चिम काली रुन्छे,
बाग्मती छाती माथि सन्तान बाली रुन्छे।

भारतबाट लुटिदामा दुख्छे गण्डकी त्यो,
पंजाबाट छुटाऊ भन्दै छाँद हाली रुन्छे।

भू-गर्भमा लुक्दै हिड्छे पोखराकी सेती,
दुखेसो छ उस्को पनि फोहोर पखाली रुन्छे।

खुशी  हुँन्थी सप्तकोशी हेर्दै नेताजीलाई,
यिनैबाट बेचिए पछि  नालीनाली रुन्छे।

प्रभातमै अस्तायो घाम मेरो यो जिल्लामा,
भन्दै  भोकरोगग्रस्त  त्यो  कर्णाली रुन्छे।

वातावरण  दूषीत भयो, उजाडिदा वन,
वनकै चिन्ता गर्दै डाँफे  डालीडाली रुन्छे।

कविता - कसरी भुल्न सक्छु र म?
कसरी भुल्न सक्छु र म?
हामीले संगै बिताएका ती पलहरु
सम्झिंदा छियाछिया हुन्छ मुटु
बिर्सिसक्यौ तिमीले
तर म राम्रो संग सम्झिन सक्छु
हाम्रा ती सुखद क्षणहरु
अनि पोलाइरहेछु भतभती आफूलाई
फर्किएर हेर त विगतलाई एकपटक
चाहंदैनौ होला हैन!
तर म सम्झिरहन्छु पलपल
अनि तड्पाइरहन्छु आफूलाई।
कसरी भुल्न सक्छु र म ?
भागीभागी फिल्म हेर्न गएको
तिम्रो फोन आउदा घरकाहरुले थाहा पाउलान भन्ने डरले
लुकीलुकी करेसाबारीबाट घण्टौंसम्म बोलेको
हामीले संगै बिताएका
ती दिन अनि रातहरु पनि
तर भुलिसक्यौ तिमीले
र त लात हानिसक्यौ म र मेरा सबै
यादहरुलाई।
कसरी भुल्न सक्छु र म ?
तिमीसंगका ती रतिक्रिडाहरु
अनि तिमीले लुटेका मेरा अस्मितालाई
जुनबेला खुब अमृत मानेर पिएका थियौ
खरानी बनाईसक्यौ आज तिमीले
मेरो चोखो मायालाई
जुन स्वार्थीपन थियो तिमीभित्र
तर गुमाइसकेकी थिएँ मैले
आफ्नो कुमारीत्व र अस्तित्व
बुझ्न सकिन तिमीलाई
किनकी म पागल थिएँ।
हो, म पागल थिएँ तिम्रो जवानी संग
मेरो जवानी साट्न र विवस पनि थिएँ
तिम्रो खुसीमा मेरो पनि खुसीको केही
अंश मिसाउनमा
त्यसैले त म पागल भएकी थिएँ।
कसरी भुल्न सक्छु र म ?
उही दिन,उही रात,उही महिना
जुन आज पनि उस्तै छ
अनि मेटिंदैन तिम्रा यादहरु अझै
मेरो सामु उभिएर गिज्याइरहेछन
सायद मैले असफलताको घुम्टो ओढोर होला
यसैले त रोकिन खोज्छ स्वास
फुट्न खोज्छ मुटु
तिम्रा ती मायाका प्यारा बचनहरु सम्झिंदा
तैपनि सम्हाल्न खोज्छु आफूलाई
बुझाउछु आफ्नो मन
हेर्छु यो कलिलो पालुवा झैं
आफ्नो सन्तानको मुहारतिर
तैपनि मान्दैन यो मन
किन थाहा छ ?
अहं, थाहा छैन
हो, थाहा छैन तिमीलाई किनकी
तिम्रो नजरमा म मरिसकेछु।
कसरी भुल्न सक्छु र म ?
तिमीले हासीहासी लुटेको मेरो जवानीको निशानी
अनि चोखो मायाको नासोले
आमा! आमा! भन्दै
कहिले हातको चोरी औंला त
कहिले पच्छ्यौरा समात्दै
पछिपछि दगुर्दा
तिम्रै अनुहार मेरो काखमा लुटुपुटु गरिरहंदा
जुनबेला गड्यौलाको लोभले बल्छिमा
परेको माछो झैं
तिम्रो मायालु जालमा परि
अचेत भएर लुटाइरहें आफूलाई
चुसाइरहें जवानी तिमीलाई
हो, त्यसैले त आज पलपल
मारिरहेछु, जलाइरहेछु आफैंलाई
तिम्रै यादमा
मन मस्तिष्कभरि अतित सम्हालेर
पागलसरि अचेत भएर
भविष्यको त के आशा र ?
वर्तमानलाई कुल्चिरहेछु
म वर्तमानलाई कुल्चिरहेछु। 
- कृष्णा भट्टराई, झापा

गजल जव घाम जून रहन्छन् गजल रहोस् तिमीसँग। जागरूक र मायालुपन हरपल रहोस् तिमीसँग। त्यों मनको क्यानभास भरि प्रेमिल चित्र कोर्नसकौं, म केबल कूची न हूँ मसि बोतल रहोस् तिमीसँग। गीत होस् या कबिता होस् या त यात्रा नियात्रामा, रस रंग र प्रतिक बिम्ब सबल रहोस् तिमीसँग। नहराउनु धेर एकान्तमा प्रकृतिको गुलाम बनी, एकान्तपन भंग पार्ने मादल रहोस् तिमीसँग। उदारणीय बन्नू सधै नबिझाए है कसैलाई नि, प्रशांसानीय कवित्वमन कोमल रहोस् तिमीसँग। मेरो जीवन बिसाउने चौतारी हौ तिमी भने, आमाको झै प्यारो प्यारो आँचल रहोस् तिमीसँग।

♥ इन्दिरा प्रयास झापा हाल सानोठिमी भक्तपुर

धनकुटे कान्छाका केही गजलहरु:
१) बजारमा रङ्गीन तिम्रो फोटो टाँसिएको छ। यो नठान कि रङ्गमा हार्दिकता गाँसिएको छ। पोस्टर हो हाँसेछौ बजार हाँसिरहेछ, यो नठान कि पोस्टरले जीवन दिएको छ। आँखा भएर जानेहरु आँखै सामुन्ने फर्किरहे, यो नठान कि समय पोस्टरमा अडिएको छ। बजार छ मनहरुको र त आँखाको धार छ, यो नठान कि खाटाले घाउ सिएको छ। २) पहिले मार्छ अनि भन्छ मलाई माफ गरिदिनु। उसका लागि जिन्दगीको सहिछाप गरिदिनु। कस्तो उसको निमन्त्रणा कस्तो उसको वाचा कसम, मेरै दुश्मन मलाई भन्छ उसकै आदाप गरिदिनु। वैमानीको रङ्ग दलोस मलाई छाँया बनाएर, फेरि भन्छ यार तैले उसकै धाप गरिदिनु। रोप्नै हुन्न पूmल मैले उजाड भइदिनु भन्छ, आँगनभरि फूल झर्दा भन्छ साफ गरिदिनु। ३) मेरो जून घाम अनि सिङ्गो आकाश तिमी। नशाभित्र बग्ने रगत चल्ने सास तिमी। मलाई मान्छे हुन देऊ भगवान हैन, चोखो शुद्ध पवित्र त्यो गंगाबास तिमी। गलेँ भने छोइ देऊ थाकेँ भने कहिँ कतै, कहिल्यै छुट्न नसक्ने त्यो बाहुपास तिमी। बिना बादल देखिरहूँ खुशी आँखाभरी, मेरा लागि सधैँ सधैँ मधुमास तिमी। ४) मुटु दुख्ने चोट के हो परदेशीलाई सोध। अरब ल्हासा भोट के हो परदेशीलाई सोध। आफ्नै आँगन नाच्न पाऊँ फूल हाँस्न पाऊँ, बिना हाँसो ओठ के हो परदेशीलाई सोध। माटो हैन मुटु देश धुलो आमा सरी, चोखो मनमा खोट के हो परदेशीलाई सोध। हत्केलाले मुटु थिचि बाँच्छ के का लागि, मर्दै बाँच्ने अठोट के हो परदेशीलाई सोध। ५) तिमी हाँस्दै आयौ र म सोच्न थालेँ। तिमी रिसायौ र म सोच्न थालेँ। परैबाट हेरेँ र आँखा नियाँले, आँशु बिसायौ र म सोच्न थालेँ। सफा देखँथेँ जब जून तारा, बादल मिसायौ र म सोच्न थालेँ। खै के के भनिछौ हेर्दै टोलाएँ, चरी गीत गायौ र म सोच्न थालेँ। फुल्दै गरेको पूmल टिपी दिएँ, डोब सुम्सुम्यायौ, र म सोच्न थालेँ। बगर खोस्री पानी कुवा बनाएँ, तिमी गुनगुनायौ, र म सोच्न थालेँ। जब बाँसुरीको घाउ दुख्न थाल्यो, गजल सुनायौ, र म सोच्न थालेँ। ६) मनको आँशु झर्यो भने दिउँसै रात पर्यो भने तिम्लाई कस्तो लाग्छ ? तिम्रो आँखाबाट बिहान उदाउँछ मेरो लागि टम्म बादल भर्यो भने खसम तिम्रो मर्यो भने तिम्लाई कस्तो लाग्छ ? तिम्रो सिँउदोबाट घाम अस्ताउँछ मेरो लागि लगनपछि टर्यो भने साइत अन्तै सर्यो भने तिम्लाई कस्तो लाग्छ ? तिम्रो ढुक्ढुकीमा मेरो सास चलिरहेछ छामी हेर प्रेमी नहर तर्यो भने दोषी जहर छर्यो भने तिम्लाई कस्तो लाग्छ ? ७) कुहिरो छ र त शीत लहरको छाल छ। कम्बल नओड बाँड्ने नै जाडोको दलाल छ। लोड सेडिङ आँखामा निदाएको यो घडी, पानी निभाउन देशमा आगो हालाहाल छ। बुद्ध कुल्फि भएको छ अचेल बजारमा, भर्खरै उडेको बाफलाई पुरै अबगाल छ। किन बासेका हुन भालेले सम्साँझै रातमा, बिहानी झुल्कन अझ आलटाल छ। पर्दा रङ्गीन देखिएको मात्रै हो, कि अदृश्य छायाँकै मालामाल छ। बैँशको झोक्का मा अबैध कुमारीहरुको, आलो गाडिएको बच्चामा अझै सालनाल छ। रेमिटेन्सले चेलेको छ मुलुक महासय, देशको ठेक्का लिने हेर महा–दलाल छ।
८) खबरदार खतरामा देश छ। मूर्खहरुको इमान्दार सन्देश छ। परदेशीहरुलाई सोधन यार, कहाँ कहाँ ठेसै टेस छ। तस्कर कालो बर्दिमा हिड्छ, वकिल सफेद सबुत पेस्छ। बहिरो मुग्ध छ लाटो गीत सुनेर, लङ्गडै लङ्गडाको रेस छ। पान थुकेझै थुक्छ नेता, देश विकासमा ऊ समावेश छ। कसलाई कसको भरोसा यहाँ, धमिराको ढिस्कोमा देश अडेस छ।

♥ धनकुटे कान्छा, दमक

गजल

जनता सङ्ग फेरि अब सरकार मुस्कुराउ छ। भाउले महिनै दिनमा बजार मुस्कुराउ छ। मौनतामा बसेको यो हिमालले सोची रहेछ, कुनै दिन शान्तिको समाचार मुस्कुराउ छ। बाचा गरि छुटे देखि खबर छैन उस्को, बार बार म सँग उपहार मुस्कुराउ छ। यति खुशी हुन्थ्योकी उ सागरमा अल्लमलिदा, जब पर क्षितिजमा किनार मुस्कुराउ छ ।
♥ तिलाश्री तिम्सिना नाम्सालिङ - ६, इलाम, हाल - दमक, झापा।

गजल

जलाइदेऊ मेरा तस्बिर दुनियाँको अगाडी। झुक्ने छैन तिम्रो शिर दुनियाँको अगाडी। फेरियो जमाना मानिसहरु फेरिएका छन्, नसुन ब्यथा र पिर दुनियाँको अगाडी। यस कारण साधुहरु क्रोधित भएका हुन्, नखरा देखाउछ फकिर दुनियाँको अगाडी। एउटै उद्देश थियो यी बिधुवा नारीहरुको, "तोडौ कु:संस्कारे जन्जिर दुनियाँको अगाडी। सरकारी अड्डा जस्ता मेरा मधुशाला पनि, पिउने मात्र भयो जागीर दुनियाँको अगाडी। ♥ इन्नोसेन्ट राजन झापा

गजल हरायो शहर बाट तर कसैको मनमा थियो । उसको आधा मुटु कसैको जिवनमा थियो । समयले तनाबै तनाब दिन्छ कुनैकुनै पलमा, जिन्दगी बाँच्नुको मजा त बचपनमा थियो । नभुल्नु पर्नेले पनि भुलि दिएको छ अचेल, शायद सम्बन्धको परिभाषा धनमा थियो । देश छोड्दा बोकेको सपनाहरु सपनै रहयो, यौटा परदेशीको सपना उसकै कफनमा थियो ।

♥ राज अविरल यात्री बिर्तामोड, झापा ।

गजल
तिमी बग्यौ नदी भई, म त चट्टान बगरको। म भएछु मन्को पीडा, तिमी मुस्कान अधरको। दोष तिम्रो हैन सायद, मलाइ घाइते बनाउने, थियो दोष फगत तिम्रै, बैशालु त्यो नजरको। चढाइ दियौ तिम्ले बली, मेरो प्रेमको जानाजानी, दैब खुशी पार्छु भन्दै, शरण परी पत्थरको। म त गाउले ठिटो कहाँ, दिन सक्थे सुख सयल, तिम्ले रोज्यौं बास आखिर, महलभित्र शहरको। तिमी भोग्नु जिन्दगीको, हासोखुशी सुखै सुख, म सहुँला पुरै जीवन, दुख पिडा ठक्करको। ♥ गोबिन्द प्र. तिवारी दमक नगरपालीका -१५, झापा, नेपाल।

गजल खुम्चिनु पर्दा मेची रोयो कालापानी रोयो। सहीदका सपना सँगसँगै बलिदानी रोयो। सबेरै समाचार खोलेर हरें थें अखबारमा, प्रियतमको लापरवाहीले जिन्दगानी रोयो। कुमारी आमाको ब्यथा कसैले बुझेनन्, नकानून रोयो न देशको राजधानी रोयो। गाँस बास र कपासको लागि प्रवासिने, ति युवाको जीवन संघर्षमा जवानी रोयो। लैला मजनू र मुना मदनको नक्कल गर्दा, कैयौ युवातीको एकान्तमा सिरानी रोयो। एक बालक समाजबाट अपहेलित हुदाँ, उसको मस्तिष्कमा बाबुको निशानी रोयो। अवस्यै त्यों दुखी म जस्तै कवी हुनुपर्छ, अर्थ अभावमा उसको साँझ बिहानी रोयो। छेपाराले रंग बदल्न छोड़े मान्छेलाई देखि, बहुरंगीको रंगमंचमा देशको अन्जानी रोयो।

इन्दिरा प्रयास, दमक हाल, भक्तपुर।

योद्धाको चिट्ठी

सानू तिम्रो नाममा मेरो अस्तु र खरानी आयो भने फुटाउनू हाताका चूराहरू र नामेट गर्नु शिरको सिन्दुर म यहुदीको क्रूर पन्जा बाट सकिन उम्कन दफन गर्न खोज्दैछन् मेरो जीर्ण तन मरुभूमीको तातो बालुवामा छोरालाई टोपी झिक भन्दिनू चुहिन सक्छ ढुङ्गाको छानो र रमिता हेर्न सक्छन् बबुरा ताराहरूले फलैचाको आँगनमा बसेर मेरो सम्झनामा बगाईन दिनू दुई थोपा अश्रुबिन्दु मेरो नामको चिता माथि प्रिय लागबत्ती दिने बेलामा॥ निधारमा रातो अच्छेता टाँसेर आँशु बगाउदै भन्थेऊ आमा नगएनी हुन्थ्यो तर के गर्नु मेरो थाप्लोमा साहूको ऋण थियो म हिड्ने बेलामा कलिला सूर्यका लालीहरू खुट्टा तन्काई रहेका थिए त्यति बेला अणु परमाणुको चित्कार भित्र गरिबीको पिञ्जडामा खेली रहेको थियो मेरो नाबालक छोरो॥ म संग घाम किन्ने पैसा थिएन र भनेन कहिल्यै घडीको काँटाले तेरो आयु यति हो भनेर बरु हिडिरहयो भित्ताको आयतन नापेर साँझमा बलेको आकाश संगै सेतै फूलेको पहाडको फेदीमा म सिक्दै थिए खोला नाला संग सुसेल्न पहरा छहराको वात्सल्य ओडेर यि सबै पुनीत प्रेम छोडेर म हिडेकै हुँ पराईको आकाश तिर जीजस अनि अल्हाको देशमा पसिना बेच्नलाई॥ मेरो वियोगमा बादलको आँशुले पखालिएको खहरे नतमस्तक हुन सक्छ र लड्न सक्छन् मेरा बाल्यकालका पदचापमा चिप्लिएर देश बोक्ने पदयात्रीहरू तानाशाहा आँगन टुहूरो हुनेछ त्यति बेला जब म आउनेछु पोस्माटम गरेर स्ट्रेचरमा॥ कङ्गारुले बच्चा च्यापेझै स्याउलाको भारी बोकेर खोरुङ्गाको उकालो हिड्दै हुन सक्छिन मेरी आमा यति बेला शैयामा छट्पटीदै हुन सक्छन् मेरा बा दमको औषधी छुटेर चेतना भोकाएको होला अधर्मीहरूको बस्तिमा लेकको सिङ्गार टिपेर हिमाल हाँसेको होला मृत्युको कलश यात्रा गर्दै महङ्गिको मलश्री भाका संगै॥ म युद्धको क्रीडास्थल भरि रगतको नदी बगाईरहेको छु रिक्त जीवन कोलाज भित्र सिमा स्तम्भ ढल्ला दशगजा मलामी हुन सक्छ कार्गिलमा आएर नेकु फूक भन्दिनु मेरा मलामीलाई र खाजा चामल बोकेर जाउ भन्दिनु मेरो करेसो जोडिएका छिमेकीलाई म फर्किए पछि रातो बाकसमा त्यती बेला नरुनु है मेरी सखी मैले वीरगती प्राप्त गरेको हुँ॥ मुर्कूटाहरूको नली खुट्टा बजाउँदै कुसुन्डाहरू हिड्दै होलान् आरुको फूलमा स्वर्णिम युग बोकेर स्वप्न पंक्षीले गुड छोडे होला रक्तरन्जीत भूगोल देखेर यि सबै युद्धका निशाना थिए अशान्तिले बबन्डर मच्चाए पछि॥
♥छवि किरण ओली बिर्तामोड नगरपालिका वाड्न ०३ शैनिकमोड झापा।

म पनि गोरु हुँ
जब म फुर्सतमा हुन्छु, त्यस बेला म अतीत सम्झिन्छु । रमाइलो पनि लाग्छ । समय, स्थान, घटना, पात्रहरू उछिन पाछिन गरेर आउँछन् । म दङ्ग पर्छु । अरूलाई पनि यस्तै हुन्छ कि ? थाहा छैन । अतीतको दुख पनि स्मरण गर्न त रमाइलो लाग्दो रहेछ । 
म सानु थिएँ । मानिसहरू मलाइ माया पनि गर्थे । मानिसहरू मलाइ गाली पनि गर्थे । सम्झन्छु, दुवैका लागि खास कारण चाहँदैनथे । म दश महिनामा मात्रृवियोगमा परेको, माया पाउने कारण यो पनि होला । लाग्छ, गाली चाही उचित कारण बिनै पाउथे । ६५ बर्ष अगाडीको पहाडी समाज, बाल मैत्री स्वभाव धेरै मुलुक पर थियो होला, समाजको ।
सम्झन्छु, जसले गाली गर्थे "गोरु" पनि भन्थे । किन "गोरु" भनेको ? आश्चर्य लाग्थ्यो । म जूवामा नारिएर खेत र बारी जोत्न नसक्ने ,कसैलाई हान्न नसक्ने, जथाभाबी चर्न नसक्ने, होक्काँ-----पनि गर्न नसक्ने, खोले र घाँस खान नसक्ने । साँच्चै म निरीह थिएँ । तै पनि मान्छे मलाइ गाली गर्थे र "गोरु" भन्थे । किन भन्थे ?
ती मान्छे, जसले मलाइ गाली गर्थे र "गोरु" भन्थे लाग्थ्यो उनले "गोरु" लाइ अपमान गरि रहेछन् । गोरुले जे गर्थ्यो, म त्यसको छेउ गर्न सक्दिनथें । त्यस बेला गोरु बिना कुनै किसानको घरबार चल्दैनथ्यो । गोरु बिनको गोठ, गोठ जस्तो हुँदैनथ्यो । खर्कमा सौहार्दता आउँदैनथ्यो । हरेक किसानको घरको, व्यवहारको मेरुदण्ड हलीको कार्य थियो । गोरु बिना कोही हली हुन सक्दैनथ्यो । तत्काल जीवन सार्थक पार्ने गोरु थियो । यस्ता कुनै गुण नभएको अबोध बालकलाई मान्छेहरू "गोरु" भनेर गाली गर्थे । मलाइ गोरु भन्दा साँच्चैको "गोरु" को अपमान भै रहेको जस्तो लाग्थ्यो । गोरुको अवमुल्यन गरे जस्तो लाग्थ्यो ।
मलाइ गोरुको माया लाग्थ्यो । जूवामा नारिएर हलो जोत्नु पर्ने, जोतारोले फनफनी बाँधिएर चल्न - चटपटाउन नपाउने, हलीले भाँति नपार्दा गोरुले कुटाइ खानु पर्ने, भोक भोकै लुर -लुर हलो तान्दै हिँडिरहनु पर्ने, गोरुले गर्ने कार्य सम्झेर मलाइ उदेक लाग्थ्यो । यस्तो उदेक कार्य गर्ने गोरुसँग दाँजेर, केही गर्न नसक्ने मलाइ मान्छेहरू गाली गर्थे र "गोरु" भन्थे । कहाँ त्यस्तो महान् गोरु हुन सक्नु र म ?
त्यसो त प्रतीकात्मक अर्थमा पनि गोरुको नाम लिइएको होला र "गोरु" भनेर गाली गरिएको होला । गोरु, प्राप्तिको चेत नभएर बाध्य पारिएको कर्म गरि रहने प्राणी हो । उस्लाई कर्मको प्रतिफलको चेत छैन । आफ्नो कर्मको प्रतिफल अरूका पोल्टोमा पारि दिने , आफू कर्म गरी रहने, प्रतिफलको होसै नरहने । साँच्चैको गीता बादी प्राणी हो गोरु । मान्छे त आडम्बरी हो, ढोगी हो । उ गीता पढ्छ । " कर्म गर , फलको आस नगर "- भनेर भाषण गरि रहन्छ । फलको सम्भावना बिनाको कार्य त उ गर्दै गर्दैन । यसरी गीता रटेर मान्छे गीता बादी हुन सकेको छैन । गीताको छेउ टुप्पो केही भेटेको छैन, तर गोरु गीता नपढी गीता बादी भएको छ । गीताको रचना काल भन्दा पूर्व देखि नै उ कर्म गरिरहेछ । फलको आशा उसले कहिल्यै गरेन । गीता रचना हुनु भन्दा अगाडि देखि नै कामबाट व्यवहारबाट बताइ रहेछ -गोरु ।
त्यस अर्थमा मलाइ गर्व बोध हुन्छ, मान्छेले मलाइ "गोरु" भनेर गाली गरेकोमा । लाग्छ, ती मान्छे त महान् हुन्, जसले बाली अरूका लागि लगाइ दिन्छन् । फलेको बाली आफ्नो ढुकुटीमा भित्र्याउँदै भित्र्याउँदैनन् । त्यस अर्थमा अरूले मलाइ "गोरु" भनेर गाली गरे पनि म असल "गोरु" हुन न सकेकोमा भने दुःखित छु । मैले अरूका ढुकुटीमा भित्र्याउने गरी बाली लगाउन सकेको छैन । मलाइ गाली गर्नेहरुले बुझे हुन्छ -म साँच्चैको गोरु हुनै सकेको छैन । 
त्यसो त सोझा, सिधा, भलाद्मी सबै गोरु हुन् -छट्टूहरूका दृष्टिमा । छट्टूहरू अरूलाई "गोरु" बनाएर अगुवा बनेका हुन् । समाजका अगुवा, राजनीतिका अगुवा, मुलुककै अगुवा । अरूले लगाएको बाली आफ्ना ढुकुटीमा पार्न सक्ने अगुवा बनेका छन् । अगुवा हुनु भनेको बाली चर्नु हो । चरेर बचेको बालि ढुकुटीमा पार्नु हो । उनीहरू त्यसै गरि रहेछन् । हामी जोतिइ रहेछौ । हामी गोरु हैनौ, तर हामी गोरु जस्तै हौ । हामीलाई जोती रहेछन् । अझ गोरु र हामीमा यो पनि फरक छ-हामी जोतिन्छौ । घाँस अगुवाहरू खान्छन् । गोरुले त अलि अली घाँस र कुँडे पनि भेट्छ । हाम्रो त कुँडे पनि अगुवाको भाग लाग्छ । 
शिप र समर्थले मान्छेलाई हिमालमा पुर्याहउदो रहेछ । कुरा गर्ने, ढाँट्ने, छल्ने, बटुल्ने, तर्क गर्ने , ढिपी गर्ने, जिद्दी गर्ने शीप भएपछि मान्छे कहाँबाट कहाँ पुग्दो रहेछ । मैले यी कुरा, आर्जन गरेका तलका इष्टहरूलाई हिमालका बिष्टमा परिणत भएको देखेको छु । अरूको धूलो पुछेर हिड्नेलाई धूलो पुछाउँदै गरेको देखेको छु । गोरु जस्तै जोती रहेका लाई अनगिन्ती गोरु जोताइरहेको भेटेको छु । हिजोका गोरुहरू रातारात बाघ भएर गर्जेको पनि देखेको छु, सुनेको छु । रात भरमै क्रान्ति सम्पन्न भएर उनलाई सिंहासन प्राप्त भएको पनि हेरेको छु । गोरु नै नभए पनि "गोरु" भनेर गाली पाउने म र म जस्ता गोरुले त कहाँ हिमालमा टेक्न पाउनु र ? कहाँ सिंहासन छुन पाउनू ? उनीहरू त एकै क्षण गोरु, केही समय हली, अनि हलीका पनि हली । गोरुहरू त उनकै लागि सधैँ चढी रहेछन् बली । 
अहिले त गोरुको महत्वमा पनि ह्रास आइ रहेछ । गोरुको सट्टामा टीलर आएको छ । ट्याक्टर आएको छ । तै पनि मान्छेले पाउने गालीमा परिवर्तन भएको छैन । गोरुको काम टीलर ट्याक्टरले गरे पनि गाली गर्दा ट्याक्टर र टीलर भनेको सुनेको छैन । गालीमा गोरु नै छाइ रहेछ र गाली गर्नेहरुका मुखमा "गोरु" नै आइ रहेछ । मलाइ लाग्छ, जोत खनको प्रसङ्गमा नयाँ - नयाँ प्रविधि आइ रहे पनि र गोरुले जोत्नुपर्ने काम निमिट्यान्नै भए पनि गालीमा "गोरु" हराउँदैन । बल भएकोले दुब्ला लाइ गोरु भनेर गाली गरि रहेछन् । संस्कृतिको जगेर्ना भनेर पनि टाठो बाठाहरूले सिधा साधालाई जोती रहेछन् । सोझा सिधा र दुब्लाइहरू जोतिइ रहनेछन् , जोतिइ रहने छन्, निरन्तर जोतिइ रहने छन् ।
राजनीतिमा बहुमत र अल्पमतको कुरा हुन्छ । भनिन्छ, बहुमतले शासन गर्छ । अल्पमत विपक्षमा बस्छ । तर मलाइ लाग्छ, कुराका जामामात्र यसरी सिलाइएका हुन्छन् । कहिले पनि बहुमतले शासन गर्दैन । बहुमत शासित हुन्छ । बहुमतका नाममा थोरै मानिसले शासन गर्छन् । धेरै मानिसलाई शासन गर्छन् । दर्शनका कुरा गरेर मिलाए पनि सत्य कुरा यस्तै हो । साम्यवाद होस्, समाजवाद होस्, पूर्ण लोकतान्त्रिक व्यवस्था होस्, वा निरङ्कुशतन्त्र । हुने यस्तै हो । 
शासन गर्नु भनेको जोताउनु हो । शासित हुनु भनेको जोतिई रहनु हो । त्यसैले शासित बनेर धेरै जोतिई रहेछन् । शासक बनेर धेरैले जोताइ रहेछन् । शासितहरू शासकका गोरु हुन् । शासकहरूलाई हली त भन्नु त हुँदैन । उनीहरू हलीका मालिक हुन् । यसरी जोत्ने, जोताउने र जोतिई रहने कार्य चलिरहेछ । चलिरहेछ, चलिरहेछ । चलिरहेछ ।
समय समयमा जोताउनेहरूको स्वरूपमा परिवर्तन हुन्छ । भ्रमको आभूषणले परिवर्तनलाई आकर्षित बनाएको हुन्छ । त्यो आकर्षणको गुणगानमा जोतिई रहने ले धेरै समय बिताइ सकेका छन् । अझै बितिरहेछ । समय नै यस्तो रहेछ, जो आफै दौडि रहन्छ । समयको दौडलाई जोतिनेहरू प्रायश्चित्त बिना हातबाट खुस्काइ रहेछन् । जोताउन सामर्थ्य राख्नेहरु समयलाई हातमा पारेको भ्रममा ढुक्क बनेका छन् । तर उनको त्यो क्षणिक ढुक्क पनि समयको दौडले हिमालबाट फेदीमा झारेको दृश्य जोतिनेहकारु लागि रमाइलै हुन्छ । 
म पनि जोतिदैं छु । जोत्नेहरूले, जोताउनेहरुले जोत्दै छन् । गोरु जत्तिको हुन नसके पनि जोताउनेहरु जस्तो बेइमान बनेको छैन । जोताउनेहरु अझै मलाइ गाली गर्दैछन् । "गोरु" भन्दै छन् । म गोरु नै त हुन सकेको छैन भाग्न पनि सकेको छैन । भनी दिने गर्छु, म "गोरु" हुँ , तर गोरु नै त हैन । गोरु जस्तै हुँ । बल्ल बुझेको छु, सबै जोतिनेहरु "गोरु" हुदा रहेन छन् । सबै जोत्नेहरू हली पनि हुँदा रहेन छन् । 
कसैलाई मलाइ गाली गर्न रहर छ भने धक फुकाएर "गोरु" भने हुन्छ । म गोरु नभए पनि गोरु जस्तै त हुँ । मलाइ लाग्छ - संसारभरिका जोतिनेहरु गोरु नै हुन् । त्यसैले म पनि गोरु हुँ । २०७० माघ

लिला उदासी, चारपाने - १, बिर्तामोड।
साहित्य संसार मा प्रकाशित

गजल

खोइ कस्ले सास हाल्छ्न तिमी आउँदा।
मुर्दाहरु बोल्न थाल्छन् तिमी आउँदा। कोही दिन्छन् गुलाब कोही दिन्छन् मुटु, कोही जूनतारा खसाल्छ्न तिमी आउँदा। जन्मिन्छ्न बाली सुगृब जन्मिन्छ्न,
अनि पहाड उचाल्छ्न तिमी आउँदा। पागल हुन्छन् कि घाइते हुन्छन् मान्छेहरु, अरे आगैमा हाम फाल्छ्न तिमी आउँदा। भरसक नआउनु यो बस्तीमा नआउनु,
घरबारेहरु मन बराल्छ्न तिमी आउँदा।

♥ कल्पना आचार्य ओली
दमक, झापा।

गजल

ति आमाको आँसु पुछ्ने ,सन्तान खोज्दैछु। भन भगवान कहाँ छन ति प्रश्न सोध्दैछु। कि धोएर कि रोएर जान्छ मनको मैलो, त्यसैले त आफ्ना पीडा यहीं पोख्दैछु।
यो देशमा बाधा बिघ्न छिट्टै हटोस भनि,
झुकाइ शिर तिम्रै पाउमा संधै ढोग्दैछु। देशको निम्ति मरी मेट्ने बाचा ब्यर्थ भयो, कस्लाई दिनु दोष मैले आँफैलाई दोस्दैछु। मुग्लानमा बित्यो बैंस धनको पछीलाग्दा,
जिउँदो छु म भन्नु मात्र कफन ओड्दैछु। ♥ सावित्रा लुइँटेल घिमिरे झापा, बिर्तामोड।

लघुकथा - "भेउ"
म उसको कोठामा पुग्दा उ ओछ्यानमा बसि काखमा ल्यापटप राखेर ल्यापटप चलाउँन मग्न भेटियो भनें उसकी श्रीमती चैं उसै कोठाका कुनामा रहेको ग्यास स्टोभमा घोत्लिइ रहेकी भेटिइन । मैले सदाझैं भाउजू सन्चै ? भनेर सोधेको उत्तर पनि करैलेमात्र पाइएकोमा मैले अनुमान लगाएँ लोग्ने स्वास्नीमा ठाक-ठुक परेछ । म उसका छेउमा बसें उसले बस् भन्नैं नपाइ र सानो स्वरले "के भो भाउजुलाइ ? के गरिस् तैंले ?"-भनेर सोधेकोमात्र के थिएँ उसले लट्टे पड्किए झैं पड्किदैं भन्यो-"के हुनु नि ? मैले सघाइ दिइन भनेर ठुस्किएकी ।" उसको कुरा भुइँमा खस्न नपाउदै श्रीमती पड्किइन-"हिजोका थोरै थिएनन् जुठा भाँडा, कमसे कम यो भाँडा माझ्न बसि भनेर थाहा पाएपछि त यसो उठेर दाल बसाइ दिन, चिया पकाइदिन हुदैन त ? थाहा पाएर पनि सुतेकोछ-सुतेकोछ, दलाहा जात, आइमाइलाइ त दासी बनाएर दल्नैमात्र खोज्दारहेछ है यो लोग्नेमान्छेको जात त ।" "हैन, कहिले त बिहान झिसमिसेमै निस्किएर राती नौबजेसम्म पनि खट्नुपर्छ मैले र बेलुकी आएर पानीसँग दुई गाँस निलेर चित्त बुझाउनु पर्छ तै पनि यसले मेरो काममा त एक मिनेट पनि कहिल्यै सघाउनु पर्दैन त । अनि मैले चैं लखतरान भएर फर्केका बेला पनि सघाउनै पर्ने ? घरधन्दा गर्ने, हिन्दी सिरियल हेर्ने र माइतीतिरका मान्छे आए मलाइनै खसालेर बोल्ने बाहेक केही काम लगाएको भए पनि बेग्लै कुरा । टार्ने पुर्‍याउने त मैले नै हो नि । बाहिर पनि मैं घरमा पनि मैं दलिनु पर्ने ? मैले रिन खा'को छ र !"-लोग्ने पनि बम्किन छोडेन । अब यो भुङ्ग्रोमा आफू पनि पिर्सोलिइ रहनुभन्दा चम्पट कस्नु बेस् भनेर एउटा बाहाना झिकेर त्यहाँबाट धाइफल तोडें । बाहिर निस्किएर सोच्तैछु-"हैन, आजकलका आइमाइहरुले आफ्नो स्वतन्त्रता खोजेका हुन् कि लोग्नेको दासता ?"
जीवन दाहाल, गौरादह-७,झापा ।

गजल

विज्ञानलाई लाचार भगवानलाई चकित बनाईदिन्छ।
सच्चा प्यारले कुनै दिन सुनामी फर्काइदिन्छ।

यहाँ सन्तानका लागि बा आमा ज्यान दिन्छन,
सन्तान चाहिँ पैसाको लागि बा आमा सिध्याइदिन्छ।

जून तारा पनि फिक्का फिक्का लाग्छन् मलाई,
जब प्याराले हर्षका आशु काखमा खसाइदिन्छ।

श्रीमती छोराछोरी मिलनका दिन पर्खेर बस्छन,
उफ् उता खाडीबाट बाकसमा लास पठाइदिन्छ ।

मलाई हाम्रो सरकार र हिटलर उस्तै उस्तै लाग्छ,
गरीब बस्ती भत्काइदिन्छ आगो लगाइदिन्छ।

♥ कल्पना आचार्य ओली, दमक, झापा।

गजल

देश भित्रै आन्तरिक झगडा छ।
अझ उस्काउन छिमेकी तगडा छ।

जताततै मिचिदै छ सीमाना देशको ,
सीमा वारी अर्कैको स्तम्भ खडा छ।

खोई के लाग्ला र सीमानाको टुङ्गो,
बर्षौ देखि खाली यस्तै लफडा छ।

हे सर्वोच्च चलाउने न्यायाधीश,
भनिदेऊ देशको कानुन कडा छ।

- एलिना संग्रौला, विर्तामोड, झापा। (हाल वेलायत)

कविता - आमा

उपहार दिन सक्दिन तिमीलाई,
पटक-पटक आफूलाई रित्याई रहेछु।
आफूलाई नै समर्पण गरिसकें तिमीप्रति,
कलेटी ओठले रुन्चे हाँसो हाँसी रहेछु।।

उपहारको खोजीमा हिंड्दा हिंड्दै,
म त साह्रै थकित भइरहेछु।
तिम्रै निम्ति बाँच्ने रहर हुंदा-हुंदै पनि,
हरेक क्षण मृत्युको पर्दाले ढाकिइ रहेछु।।

ठूलै उपहार दिने रहर थियो तिमीलाई,
तर म आफैं नांगि रहेछु।
बाँकी शरीर, स्वास र रगत छ नि,
त्यो पनि तिम्रै नाममा नामसारी गरिरहेछु।।

यो सानो उपहारलाई पनि हांसेर स्वीकारी देऊ,
म बलिन्द्र धारा आँशुमा डुबी रहेछु।
सुख दु:ख तिमीलाई सुम्पिएर आमा,
तिम्रै पिडामा पटक-पटक मरि रहेछु।।

- कृष्णा भट्टराई, गोल्धाप-९, झापा।

बिनोद रिमालका ३ गजल

१.
प्रत्येक घरमा बुहारी हेपिन्छ्न सधैं।
मुखमा राम बगलीछुरा देखिन्छन सधैं।

अबुझ भनौं या मूर्ख समाज हुँदो रैछ,
दाइजोकै नाउँमा गला रेटिन्छन सधैं।

यहाँ कस्तो हो जमाना भनी साध्य छैन,
नारीकै घटना अखबारमा लेखिन्छ सधैं।

घर चुल्होमा ब्यस्त छोरीको जीवन,
यहाँ छोरो भने भट्टीमा भेटिन्छन् सधैं।

२.
किन होला छिनमैँ बर्षात हुन्छ।
थाहै नपाई जीवन बर्बाद हुन्छ।

हरियाली लाग्छन् शहर अचेल,
तिमी नभए त मसान घाट हुन्छ।

 अरे तपाइ त्यति नबगन्नु होस्न,
 यो माया को अनेक जात हुन्छ।

बिश्बास गर्नुहुन्छ प्रियसि लाइ,
बिस पिलाउने उसैको हात हुन्छ।

युगै बदलने सपना देख्नु भन्दा,
पहिला आफै बाट सुरुवात हुन्छ।

३.
कहिले काहि अधेरी ले जिस्काछन।
कहिले सोजै खडेरि ले जिस्काउछन।

सद्यै जसो बुवा भन्नु हुन्छ अचेल,
मलाइ त्यहि पधेरी ले जिस्काउछन।

मनै एक्लो भएर होला याहासायद,
भनौ सुनसान कटेरी ले जिस्काउछन।

हिजो का सुकेका खोला नाला पनि,
कतै सेति कतै भेरी ले जिस्काउछन।

नेपालि हु भनि कसरि भनौ अचेल,
बाटै भरि अटेरीले जिस्काउछन।

बिनोद रिमाल , बाहुनडांगी, झापा।

गजल

न हर्ष न उमंग नयाँ बर्षको।
साचैं नै फिका रंग नयाँ बर्षको।

असरल्ल पीडामा छ मेरो देश,
कामना छैन मसंग नयाँ बर्षको।

देश दुखेकोछ सपना टुटेको छ,
यस्तै छ सपना भंग नयाँ बर्षको।

७३ जादैछ स्पर्श गर्दै ७४ लाइ,
खुसि मनाए हुँदै दंग नयाँ बर्षको।

यस्तै हो देख्दिन उत्कर्ष कसैमा,
आगमन लाग्छ अजंग नयाँ बर्षको।
 
♥ सावित्रा लुइँटेल घिमिरे
झापा, बिर्तामोड।

गजल

जीवन चोटको हिन्दमहासागर जस्तै लाग्छ।
समय मालिक म बबुरो नोकर जस्तै लाग्छ।

तिमी आफ्नो दृस्ठिकोणलाई सकारात्मक बनाउ,
तिमीलाई हरेक मान्छे इस्वर जस्तै लाग्छ।

यहाँ पनि मेरा कुरा काट्न थालेका छन ,
यो भट्टी पनि मलाई मेरो घर जस्तै लाग्छ।

कत्ती चाडैं तिम्रो महल ठडिएछ अहो!
तिम्लाई चुनाब जिताएको भर्खर जस्तै लाग्छ।

बर्खै भरी साउको खेत जोत्ने हलि न हुं,
मलाई पसिनाको गन्ध अत्तर जस्तै लाग्छ।

- लोकेन्द्र बञ्जारा,
दमक ,झापा।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.