कविता - कसरी भुल्न सक्छु र म?
कसरी भुल्न सक्छु र म?
हामीले संगै बिताएका ती पलहरु
सम्झिंदा छियाछिया हुन्छ मुटु
बिर्सिसक्यौ तिमीले
तर म राम्रो संग सम्झिन सक्छु
हाम्रा ती सुखद क्षणहरु
अनि पोलाइरहेछु भतभती आफूलाई
फर्किएर हेर त विगतलाई एकपटक
चाहंदैनौ होला हैन!
तर म सम्झिरहन्छु पलपल
अनि तड्पाइरहन्छु आफूलाई।
कसरी भुल्न सक्छु र म ?
भागीभागी फिल्म हेर्न गएको
तिम्रो फोन आउदा घरकाहरुले थाहा पाउलान भन्ने डरले
लुकीलुकी करेसाबारीबाट घण्टौंसम्म बोलेको
हामीले संगै बिताएका
ती दिन अनि रातहरु पनि
तर भुलिसक्यौ तिमीले
र त लात हानिसक्यौ म र मेरा सबै
यादहरुलाई।
कसरी भुल्न सक्छु र म ?
तिमीसंगका ती रतिक्रिडाहरु
अनि तिमीले लुटेका मेरा अस्मितालाई
जुनबेला खुब अमृत मानेर पिएका थियौ
खरानी बनाईसक्यौ आज तिमीले
मेरो चोखो मायालाई
जुन स्वार्थीपन थियो तिमीभित्र
तर गुमाइसकेकी थिएँ मैले
आफ्नो कुमारीत्व र अस्तित्व
बुझ्न सकिन तिमीलाई
किनकी म पागल थिएँ।
हो, म पागल थिएँ तिम्रो जवानी संग
मेरो जवानी साट्न र विवस पनि थिएँ
तिम्रो खुसीमा मेरो पनि खुसीको केही
अंश मिसाउनमा
त्यसैले त म पागल भएकी थिएँ।
कसरी भुल्न सक्छु र म ?
उही दिन,उही रात,उही महिना
जुन आज पनि उस्तै छ
अनि मेटिंदैन तिम्रा यादहरु अझै
मेरो सामु उभिएर गिज्याइरहेछन
सायद मैले असफलताको घुम्टो ओढोर होला
यसैले त रोकिन खोज्छ स्वास
फुट्न खोज्छ मुटु
तिम्रा ती मायाका प्यारा बचनहरु सम्झिंदा
तैपनि सम्हाल्न खोज्छु आफूलाई
बुझाउछु आफ्नो मन
हेर्छु यो कलिलो पालुवा झैं
आफ्नो सन्तानको मुहारतिर
तैपनि मान्दैन यो मन
किन थाहा छ ?
अहं, थाहा छैन
हो, थाहा छैन तिमीलाई किनकी
तिम्रो नजरमा म मरिसकेछु।
कसरी भुल्न सक्छु र म ?
तिमीले हासीहासी लुटेको मेरो जवानीको निशानी
अनि चोखो मायाको नासोले
आमा! आमा! भन्दै
कहिले हातको चोरी औंला त
कहिले पच्छ्यौरा समात्दै
पछिपछि दगुर्दा
तिम्रै अनुहार मेरो काखमा लुटुपुटु गरिरहंदा
जुनबेला गड्यौलाको लोभले बल्छिमा
परेको माछो झैं
तिम्रो मायालु जालमा परि
अचेत भएर लुटाइरहें आफूलाई
चुसाइरहें जवानी तिमीलाई
हो, त्यसैले त आज पलपल
मारिरहेछु, जलाइरहेछु आफैंलाई
तिम्रै यादमा
मन मस्तिष्कभरि अतित सम्हालेर
पागलसरि अचेत भएर
भविष्यको त के आशा र ?
वर्तमानलाई कुल्चिरहेछु
म वर्तमानलाई कुल्चिरहेछु। 
- कृष्णा भट्टराई, झापा