July 2015

मुक्तक

म त नलाउँ भन्दै थिएँ, माया लाउने रहर तिम्रै।
छोडी गयौ घाइते बनाई मुटु जल्ने जहर तिम्रै।
माया प्रेम नि बेच्छन अरे पैसा सँग त्यता तिर,
मलाई ठिक छ गाउँकै पाखो त्यो व्यापारी शहर तिम्रै ।।

♥ सृजन घिमिरे
बैगुन्धुरा ९ दहगाऊँ झापा।

कविता 
किन रोईरहेछिन् जननी ?? शाश्वत सप्नाहरुको बाढिमा तैरिदैँ,,, खुल्ला नयनले संसार चिहाउछिन्,, सर्वोच्च शिखरको आँचलमा मुन्टो बिसाएर, सिद्दार्थ गौतमलाई अंगालोमा बाँधेर,, पशुपतीमा घण्ट बजाउँदै, कैयौँ हिमालहरुको चिसो पवन सित,, दु:खका पहाड तेर्स्याई निरन्तर बर्षात हुँदैछ आँखाबाट..! भाव विभोर बनेर आखिर,, ''किन रोईरहेछिन् जननी..??'' कदम-कदममा सन्ततीले छाती कुल्चेर हिड्छन्,, छिमेकीले पनि अङ्ग अङ्ग चुडेर लग्यो,, कैयौँले छातिमै क्षेप्यास्त्र प्रहार गर्छन्, जुलूस छातिमै दगुर्छ रगत छातिमै पोखिन्छ काटमार पनि जननीको छातीमै हुन्छ कम दर्द सहेकी छिन् नेपाल जननीले..?? तिमी हो तिमी आज आएर
सोधी रहेछौ, किन रोई रहेछिन् जननी?? डाँफे नाच्नै छाड्यो, गुराँस फुल्नै छाड्यो,, चन्द्र सूर्य झण्डाको स्वाभिमान अचानोमा छ,, कैयौँ सिता भृकुटीहरु, बलात्कृत हुन्छिन् मेची काली सुसाउँदिनन् भक्ती, बलभद्रहरु खाडी पसेकाछन् प्रसव पीडामा छट्पटिए जस्तो गरेर स्वाभिमान बचाउनका लागि पनि एक मुठ्ठी रगत मागि रहेछिन् तिमी अझै सोधी रहेछौ? अझै बुझ्न सकेनौँ? किन रोई रहेछिन् जननी ? ♥ सावित्रा लुईटेल घिमिरे झापा बिर्तामोड हाल-इजरायल

गजल

पिउन सम्म पियो आज तनाव देखाएर रित्तो खल्ती टक्टक्याउंदै अभाव देखाएर || कहाँ बाट आउँछ फुर्ती अचम्मै छ गाँठे बिरालो नै बाघ हुँ भन्छ नकाब देखाएर || दोबाटोमै लडे पछी निधाउँछ त्यहीं सुग्घरी हुँ भन्छ यस्तो बर्ताब देखाएर || हैन हैन भन्छ अझै भुइँमा लड्दा पनि चोखिंदैछ गजल संग लगाव देखाएर || सायद उस्को नजर दोषी भएर नै होला अंगुरको रस भन्छ सराब देखाएर || ♥ सावित्रा लुइँटेल घिमिरे झापा बिर्तामोड हाल-इजरायल

अधुरो कथा

चुपचाप चुपचाप
निफिक्री समय नदी झैँ
बगेको छ र
उसको दिनचार्या नून बिनाको सब्जी झैँ
त्यसै खल्लो खल्लो बेस्वादले घिस्रिएको छ
न तिमी बुझ्छौ उसलाई न बुझ्न खोज्छौ
लाग्छ गन्तब्य हराएको यात्री झैँ छ जीवनयात्रा
मनको क्यानभासमा
कसैको प्रेमिल चित्र कुदिएकोछ.....
कसैको प्रतिक्षाको घडी सकिएको छ
जसरी दुई किनारको मिलन हुन नसके झैँ
माया बिनाको सम्बन्ध र सम्बन्ध बिनाको माया
अर्थहीन भएँ झैँ
एकदिन सबै कुरा अधुरै अधुरा छोडेर
गन्तब्य मोड्नु पर्छ अनि तिमी र उसका
मेरा र तिम्रा अकल्पनिक जिजिभिसाहरु
छापिने छन् यत्रतत्र...

♥ इन्दिरा प्रयास, झापा। 


गजल

मायाँको संसारमा ,  मेरो मुटुलाई |

राखियो दोधारमा , मेरो मुटुलाई ||

खोसियो म बाट ,  अति ममताले |
फिँजाइयो बजारमा,मेरो मुटुलाई ||

तर्दैछन पार ति  ,   मेरा भन्नेहरु |
छोडेर किनारमा ,   मेरो मुटुलाई ||

म दुख्दै नदुख्ने  ,   कुनै पत्थर झैं |
बदलौं आकारमा  , मेरो मुटुलाई ||

न गल्ती थ्यो केहि,'दोषी'बनाइयो |
फेरी कुन आधारमा, मेरो मुटुलाई ||

♥  मदन न्यौपाने"दोषी"

कविता

परिवर्तित मनहरु
वस्तीहरु 
फुलहरु 
भूगोलहरु 
ग्यासटोपोको धरहरा झै
 मेरो देशको सिमानाहरु झै
 हामिले मानी राखेका परम्परा र रितिथितीहरु
 भन्दा धेरै पर 
सायद 
 मान्छे हुनुको नाता ले
 साल झै एकै ठाँउमा उभिरहन सकेनु
 वा चाहेनु
 यस्तै यस्तै के ले अल्झायो
 न तिमी ले बुज्ने कोशिस गर्यो
 न मैले
 तर पनि किनारहरुलाई माया गरि रहयो
 मानु हामी सब थोक हौं 
र यौटा अजिबको यात्रा...

- प्रतिक थपलिया, घेराबारी- ६, झापा।
हाल दोहा कतार।

मुक्तक

कोही डाँडाको घामसरि अस्ताई रहेछन्।
कोही असन्तोषी मन लिएर निस्ताई रहेछन्।

राजनैतिक असन्तुलनले हो या असन्तुष्टिले ?
सबै नेपाली जनता खस्रक्क परि सुस्ताई रहेछन्। 

♥ प्रभा आचार्य, झापा। 

गजल एक जानकारी
- कृष्ण प्यासी
www.krishnapyasi.blogspot.com बाट। 

मैले तपाईहरुलाई यो लेखमा "गजल के हो?" "कसरी लेखिन्छ?"भन्ने बिषयमा अलिकति भए पनि जानकारी दिनै पर्छ। आफुले जाने जति यो लेखमा उतार्ने प्रयास गरेकोछु। सक्दो पुस्तकहरु अनि अग्रज दाजु-दिदीहरु संग बसेर गजलका बारेमा छलफल बाटै यति जानकारी पाएको हुँ।  तपाइलाई गजलको बारेमा थाहा छ र  मलाई केहि लेख्न मन लागेमा मेरो कमेन्ट बक्स तपाई हरुको प्रतिक्रियाको लागि हुनेछ।  खैर लामो कुरा गर्दिन। यो गजल लेखन कार्य अरबी, फारसी, उर्दु, हुदै हिन्दी अनि नेपालीमा लेख्न थालिएको हो। जुन देशमा उर्दु, फारसी बोलिन्छ त्यहाँ बढी गजलको माहोल छ। हुदै-हुदै यो लेखन पूर्व तिर पनि लेखिन थालियो। हिन्दीमा धेरैले लेख्न थाले। अनि नेपालमा पनि यो देखिन थालियो। बिषेशत:  नेपालमा विक्रम सम्बत १९४० बाट गज़ल लेख्न थालिएको कुरा छ। जे भए पनि एउटा नौलो ज्ञान छाडेर गएका छन् पुर्खाहरुले। यो गजलका बारेमा लेख्न थाल्दा धेरै लामो लेख हुन्छ, त्यसैले म बिषय तर्फ लाग्छु जसले गर्दा तपाई गजल लेख्न सिक्नु हुनेछ। सर्बप्रथम-
  •  गजल के हो?
- यहाँ गजलको आक्षरिक अर्थ दिंदा

"ग"+"ज"+"अल"= "गजल" भएको हुन्छ.

ग=को अर्थ (स्त्री वा नारी)
ज=को अर्थ (वार्ता वा वाणी)
अल=को अर्थ (साथ वा संग)  भन्ने हुन्छ।


अतः समग्रमा "गजल"को शाब्दिक अर्थ "नारी संग गरिने वार्तालाप वा कुराकानी नै गजल हो।" अथवा "प्रेमिका संगको प्रणयता वार्ता" भन्ने पनि बुझिन्छ।

म गजलका तत्वहरुको बारेमा जानकारी दिन लागी रहेकोछु.गजल लेख्दा के के कुराहरुमा ध्यान दिनु पर्छ? काँहा? कसरी? प्रयोग र अनुप्रयोग गर्नु पर्छ? भन्ने बारेमा लेख्दैछु। यो तलको गजल पढ्नुहोस्-

गजल

हिजो-आज ठुले संग, सल्क्या छौ रे भन्ने सुन्छु
उसै संग दिन-रात, पल्क्या छौ रे भन्ने सुन्छु।

मन रैछ उस्को लागी, किन झुटो प्रेम गर्यौ?
रातै भरि उस्को निम्ति, टल्क्या छौ रे भन्ने सुन्छु।

मन मुटु गांस्या थिंए, धोका दियौ आज तिम्ले,
मलाई बिर्सी उसै सित, छ्ल्क्या छौ रे भन्ने सुन्छु।

किन यस्तो भयो सानु, चटक्क नै माया मार्यौ,
सबै त्यागी उतै तिर, ढल्क्या छौ रे भन्ने सुन्छु।

यस्तै रै'छ साँचो प्रेम, माईमा गई कसम खा'को,
राम्रो छैन प्यासी भन्दै, झल्क्या छौ रे भन्ने सुन्छु।
                                                                                  -कृष्ण प्यासी




         यहाँ माथिको गजल पढी सकेपछी बुझ्नु पर्ने कुरा के के हुन् त? भने हामीले सिधै हेर्दा १० हरफहरु छन्। ति १० हरफलाई गजलको भाषामा "मिसरा" वा "मिस्रा" भनिन्छ. अत: यहाँ १० मिसरा वा मिश्रा छन्। माथिको गजलमा रहेका २ मिसराहरुलाई "सेर"  भनिन्छन।अथवा २ वटा मिसराको संयोजनबाट एउटा सेरको निर्माण हुन्छ। त्यसैले यहाँ पुरा ५ सेरहरु छन्, भन्दा फरक नपर्ला। त्यस्तै  माथिकै गजलमा प्रथम सेरको प्रथम मिसरालाई "मिसरा ए-उला" भनिन्छ र  दोस्रो सेरलाई"मिसरा ए-सानी" भनिन्छ। माथिको गजलको पहिलो सेरलाई "मतला" भनिन्छ। गजलमा मुख्य २ तत्व हुन्छन। ति हुन् "रदिफ" र "काफिया"। माथि एक पटक गजलमा नजर घुमाउनु होस् त रातो मसीले लेखिएको जुन शब्द हरु क्रमश: सल्क्यापल्क्याटल्क्या,छल्क्याढल्क्याझल्क्या, छन् ति सबै "काफिया" हुन्। त्यस्तै गरेर निलो मसिले लेखिएको छौ रे भन्ने सुन्छु। चाँही "रदिफ" हो। यहाँ बुझ्नु पर्ने कुरा जहिले पनि "काफिया" रदिफ भन्दा पूर्ववर्ती हुन्छ। काफिया पछी आउने रदिफ हो।
              
बिषेशत: काफिया २ प्रकारका हुन्छन। ति हुन् -

१. पूर्ण काफिया र
२. आंशिक काफिया ।
 यहाँ पूर्ण काफिया को बनावट यस्तो हुन्छ- गर्छु,  मर्छु,  तर्छु,  झर्छु। भने
आंशिक काफियाको बनावट यस्तो हुन्छ- गरेर, भनेर जलेर इत्यादि...

अन्य काफिया पनि प्रचलितमा छन् ति हुन्-

क. एकाक्षरिय, र
ख.हम-काफिया।


क.
यहाँ एकाक्षरिय काफिया भन्नाले आंशिक काफिया जस्तै-जस्तै नै हो। जस्तै:- भुलेर, खाएर,पिएर,तरेर लुकेर इत्यादि.....

ख. हम-काफिया भन्नाले जबर्जस्ति बनाइएको हुन्छ। तर रेडियोमा गाइएको गजल सुन्नु भएकोछ भने यो काफिया बढी प्रयोग हुने गरिएको हुन्छ। जस्तै:- गर्छु, हिंड्छु, बर्सन्छु, फुल्छु इत्यादी.....

अब अर्को कुरा गजलको अन्तिमको सेरलाई "मक्ता" भनिन्छ। यसको शाब्दिक अर्थ समाप्त हो भने गजलको अन्तिममा लेखकले आफ्नो नाम प्रयोग गर्छ भने त्यो नामलाई "तखल्लुस"भनिन्छ। माथिको गजलमा प्यासी तखल्लुस हो। समग्रमा भन्नु पर्दा समध्वनी र समक्षर भएको भएको नै पूर्ण र सबल गजल हुन्छ। परम्परागत रुपले जाने हो भने ४+४+४+४= १६ हुनु पर्छ। भन्नु को तात्पर्य यो गण र बहर भित्र को बिषय हो। अबश्य अर्को बसाईमा लेख्नेछु।

     तपाईहरुलाई गजलमा "बहर", "गण", को बारेमा पनि जान्ने इच्छा होला। म आगामी लेखहरुमा थप्दै जानेछु। अत: तपाई आफै प्रयास गर्नुहोस् गर्नु पर्ने सहयोग म गर्नेछु। प्रयोग गरिहेर्नु होस्। तपाई लाई यो बिषय कस्तो लाग्यो? लेख्न नभुल्नु होला। धन्यबाद!
लेखन यात्रा को कामना.....


कविता 

जीन्दगीका इन्द्रेणी रंग घोलेर
जब तिमी मुस्कान फुलाउनेछौ
त्यो मुस्कान गाढा हुनेछ यो मनको केन्द्रमा
संतुष्टीको वर्षादले रुझेका ती चक्क्षु
दु .......र देश सम्म मेरो पिछा गर्नेछ 
हर्षविभोर हुनेछन्
आनन्दले खुल्नेछन
यी पर...............देशी मन
हो
मेहन्दीको रंग भन्दा गाढा बस्नेछ माथिङ्गलमा
मीठो नशाले लट्ठ हुनेछ तन ।
आत्मीयताको घुम्टो ओडाएर
तातो उष्ण मरुभुमीको वायु
पानी पानी हुदा,
जीवन भोग्न बाँकी छ र ? यस्तै लाग्नेछ
मायाको कम्पन ,पराकम्पन महशुस हुनेछन्
हृदय केन्द्रबिन्दु बनाएर
साउने बाछिटाले रुझाउनेछ तन मन !
हृदयमा कोरिएका प्रेमिल नाम
बिन्ती मेहन्दीले बाहिर नपोत
यो दुनियाँ स्वार्थी छ
लगाउनेछ गिद्दे आँखा
अमर पिरतिमा
धमिलिन सक्छ मन
शंकाको वर्षातले बगाउन सक्छ आत्मीयता
पहिरो जान सक्छ प्रेमिल वस्तिमा
हरियो मन हुनेले हरियो चुरा
बाहुमा बजाए नि नबजाए नि
संगीत गुञ्जिनेछन य......हाँ सम्म ।
त्यसैले
भित्री मन
संतुष्टीको आभाले लपक्क हुनु,
प्रेमको वर्षाले रुझ्नु
तर
नसजाउनु तन
नदेखाउनु दुनियाँलाई ।
उ हेर त ,
क्षितिजमा म च्याउदैछु !
कस्तो लजाएकी तिमी ?

- निराजन प्रभात लुइँटेल, झापा। 

मुक्तक

बिग्रीयो त यो देशको हाल,बयान म कसरी दिउँ ?
निरपेक्ष त भन्छन् भोली,पहिचान म कसरी दिउँ ?
भोली काटिएमा गार्इहरूलार्इ पशुपतीकै मुलद्वारमा
भन ए सरकार द्वारभित्र,सम्मान म कसरी दिउँ ?

♥ साैगात गजमेर मात्र, झापा। 

गजल

अहो ! आज फेसबुक चलाउँदा, खानै विर्सिएछ !
मिठो चट्नीसँग खाना खाँदा, दाँत माझ्नै विर्सिएछ !

अहो ! आज गफ गर्दा गर्दै सारै थाकिएछ !
गफले लट्याएपछि झन् भोक प्यास नै विर्सिएछ !

अहो ! आज भौतारीदै हिड्दा टाढौ पो पुगिएछ !
रमणिय इलाम देखेँछु ,घर फर्किनै विर्सिएछ !

अहो ! हिजो वेलुकी लेख्दा लेख्दै पाना सबै रित्तिएछ !
रात छिप्पिएछ ,कलमको बिर्को त लाउनै विर्सिएछ !

अहो ! आज पत्रिका पढ्दा पढ्दै विद्यालय जानै छुटेछ !
नेताले भाषण गर्दा गर्दै सविधान लेख्नै विर्सिएछ !
♥ गौरव पोखरेल
कनकाई नगरपालिका–३, झापा।


मुक्तक

जस्ले देशको इज्जत लुट्यो उसैको यहाँ इमान हुन्छ।
जो छ देशका लागि लड्ने पटकपटक बेइमान हुन्छ।
यस्तै छ मेरो देशको नियम कानुन लौन हजुर ,
निर्धो खोर भित्र बाहिर देश द्रोहीको सम्मान हुन्छ ।

- शिव सुवेदी
शान्तिनगर एक
जुनेली बस्ती
झापा
अचेल :- मलेसिया

गजल

देशमा अत्याचारी नै हालिमुहालीछ्न,भन्ने थाहा पाए पछी ।
नमाग्नु भिख दिनेहरु कंगालीछन, भन्ने थाहा पाए पछी ।

आंखाको भाका पनि बुझ्ने कोशीस, अटुट गरिरहेको छु म । 
मुखले बोल्नेहरु महाँजालीछन, भन्ने थाहा पाए पछी ।।

कैले चढ्नु कैले झर्नुको कसरत मै, हुन्छु हरदम अचेल ।
जीवनमा धेरै उकाली ओरालीछन,भन्ने थाहा पाए पछी । ।

मैले बिकासको आशा मारेको, धेरै भो जननेताहरु हो ।
यो देशका ढुकुटी सबै खालीछन, भन्ने थाहा पाए पछी । ।

हरेक रातहरुमा अंध्यारो हटाउने, प्रण गरिरहन्छु म ।
उदाउने सुर्यमा अधिक लालीछन, भन्ने थाहा पाए पछी । ।

दु:ख लाग्दैछ जनताको बर्गिकारण,यसरि गरिएको देख्दा ।
धर्मको चपेटामा हर नेपालीछन, भन्ने थाहा पाए पछी ।

यहाँ चोर ,फटाहा र साधु पनि "दोषी" बनाउने दाउमा देखें ।
चुपचाप सहिदिने झापालीछन, भन्ने थाहा पाए पछी । ।

♥ मदन न्यौपाने 'दोषी', झापा। 

गीत

आकाश उहि धर्ती उहि सिमाना छ वारीपारी
सपनामा तिमी रूँदा मुटु दुख्छ छाती भरि
तिमि उता म छु कता बिधाताको मन परि
भाव छुट्यो रंग उड्यो रहरहरू त्यसै गरि
अतित आलो घाउ बन्छ निको हुन्न कसै गरि
तिमि उता म छु कता बिधाताको मन परि
आशा अब स्वप्ना भयो यहि जुनिमा पाउने गरि
संयोग पर्खें युगैँ बित्यो मिलेन त्यो कसैगरि
तिमी उता म छु कता बिधाताको मन परि।

- हेम लावती, झापा। 

गजल

बारबार सताउँछौ यार,यादहरु पठाएर
नगर भो ! अत्याचार, यादहरु पठाएर

जब तिमी बेस्सरी,धड्किन्छौ मुटुभित्र
ढुकढुकी गर्छ प्रहार, यादहरु पठाएर

पख तिम्लाई पनि, म छोड्दै छोड्दिन
गरिदिन्छु सीमा पार, यादहरु पठाएर

तिम्रो तस्बिर हरबखत,आफैँसंग राख्छु अनि
चुमिदिन्छु लगातार, यादहरु पठाएर

- निशा पौडेल 'प्रतीक्षित', झापा। 

गजल

कोहि सपना सजाउछन् बिलबुक बनाएर।
तर्सिछन् कोहि मुटू ढुकढुक बनाएर॥

गरिबको बास उठायो त्यो अधर्मी साहूले नै।
कुचक्र गरेर ऋणको तमासुक बनाएर॥

बहुदल र जनबादको नारा बोकेर यो देश।
बनाउछु भन्नेलेनै छोड्यो नाजुक बनाएर॥

देशका लागी लडेको त्यो घाईते सिपाहीलाई।
आलो घाउम छर्कदैछन् नूनचुक बनाएर॥

मेरा बा ले सजाएर राखेको थियो सिरानीमा।
दुस्मनको बिनाश गर्ने बन्दूक बनाएर॥

♥ छबि किरण ओली
बिर्तामोड नगरपालिका वाड्न ०९ शैनिकमोड झापा।

मुक्तक

मायाको कुरा नगर भो,मुटु जलेको बेला ।
गिज्जिदै नजिक नसर भो,मुटु जलेको बेला ।
हजुर बिना एकपल बाच्दिन भन्दै तिमी,
मेरो निम्ति नमर भो,मुटु जलेको बेला ।

♥ सरगम गजमेर, झापा। 


गजल 
दु:खमा साथ हातमा हात राखेर बाँचेको
तराइ सँग पहाड मिली हिमाल हाँसेको ||

पहाड दुख्दा मधेश रुन्छ झारेर आँसु त्यो,
विपत्ति पर्दा छल्किन्छ मायाँ लुकाई राखेको ||

बचाउ भन्दै साहारा माग्छ विपती बोकेर
बगाई आँसु रुँदै छ देश खोइ आँसु पुछेको ||

नेपाल आमा दुखेको बेला मल्हम बनेर
पार्नु छ निको आमाको घाउ मुटुमा लागेको ||

देशको सेवा गर्ने छौं भनी कसम खाएर
समाई हात अगाडि बढौं पुग्ने छ आँटेको ||

सावित्रा लुइँटेल घिमिरे
झापा, बिर्तामोड।
हाल-इजरायल।





Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.