September 2015

कविता - खबरदार

हो त्यही नेर ढल्यो 
मेरो सपनाको महल
सिमाना बेचेर स्वार्थको माला लगाएपछी
हो त्यही नेर लुटियो
मेरो देशको अस्मिता
तिमीले
उस्कै घामको उज्यालोमा
नाचेर छमछमी
आवश्यकताको आपुर्ती गर्यौ
र उस्को लालचको
सवारीमा सवार भएर
सम्पन्नताको भ्रम छर्यौ
मानेर उस्को तन्नेरी आदेश
हरेक बाँझो निर्णयको बगर सम्यायौ
र झुक्याएर पटक पटक मलाई
स्वतन्त्रताको नाटक रच्यौ
हो त्यहीनेर पिल्लिएको छ
मेरो देशको आखा
मेरो सहनशिलतालाई
कमजोर ठानेपछी
हो त्यहीनेर पाछिएकोछ
मेरो देशको मुटु
आज
हस्दैन निसंकोच
मेरो फाँटको तरेली
सिमाना दुखेर मेचीकाली
लिपुलेक रूदैछ धरधरी
ढुक्कले घुम्दैन
मेरो समयको काँटा
र खोलाको लहरले
स्वतन्त्रताको गीत गाउदैन आज
हो त्यहिं नेर भत्कियो
मेरो एकताको बाँध
तिमीले
साँटेर मेरो माटोको सुगन्ध
उस्कै आगनी सुगन्धित बनायौ
र खिया पारेर मेरो आशामा
पराधिनताको धार लगायौ
जब तिमीले
कमजोर ठानेपछी आफुलाई
उ सँग सिद्दान्तको भिख माग्यौ
र समस्याको समाधान गर्ने बहानामा
बिनासको पैह्रो फुटायौ
हो त्यहीनेर छाम्यो उस्ले
मेरो देशको ढुकढुकी
र नाकाबन्दी गरेर मेरो आवश्यकतालाई
ठान्यो मगन्ते
त्यत्तिबेलै उस्ले
ऑखा गाडेर मेरो स्वभिमानमा
तागतको सालिक ठड्यायो
र लडाएर एक आपसमा
अधिकारको नाटक मञ्चन गर्यो
उ मेरै आगनीमा होली खेलूँ भन्छ रगतको
र चुडालेर सदभावको डोरी
युद्दको बेर्ना उमारूँ भन्छ
दबावको कोर्राले
हिर्काएर मेरो देशलाई
बनाउँ भन्छ घाईते
र बिरामी बनाएर मेरो मानसिकता
आफ्नै शासनको रजाई गरूँ भन्छ
लादेर आफ्ना अरौटेहरू यहीँ
जबरजस्त
मेरो देशको बनाउन खोज्छ
र बहन गराएर पदिय जिम्मेवारी
मलाई उपनिबेशको बनाउन खोज्छ
तर खबरदार,
ढल्दैन मेरो स्वभिमान
गल्दैन मेरो बिश्वास
डग्दैन मेरो एकता
मेरो चन्द्र सूर्यको कसम.....
अब म
आगोमा पानी भएर होईन
आगोमा आगो भएर दन्कनेछु
र डडाउनेछु
मेरो सिमानाका फोहोरहरू ।।।।

♥ लिला अनमोल, -झापा। 


एक लेख - आत्मकथा


सेप्टेम्बर महिनाको शुरुवाततिर मेरा एक जना मित्र खुब तनावमा परे। काम गर्ने ठाउँमा होस् या साथीभाइ, भेटेका सबैसँग उनी एउटै अनुरोध गरिरहेका हुन्थे। फुर्सद भयो कि मोबाइल फोनमा झुण्डिन्थे। फोनमा उनको एउटै कुरा हुन्थ्यो- कतै कोठा भाडामा पाइन्न भन्या? उनै सहकर्मी मित्रका नजिकको साथीका दुई बहिनीहरू कोपनहेगन आउँदै थिए, पढ्नका लागि। बहिनीहरू आउने दिन नजिकिदै थियो, यता कोपनहेगन बसेको नाताले पनि बहिनीहरूका निम्ति सानो सहयोग (कोठा मिलाइदिने) को अभिभारा लिएका उनीमा कोठाकै ठेगान नभएर छटपटी थियो। यो छटपटी उनमा हप्तौं मडारियो। बल्ल कोठाको बन्दोबस्त मिलाए तर त्यो कोठाबाट सिपिआर (डेनिस सोसियल सेक्युरिटी नम्बर) निकाल्न नमिल्ने भएपछि अर्को तनाव शुरु भयो। 

मेरा ती साथी त एक प्रतिनिधि पात्र मात्रै हुन्। कोपनहेगनमा बसोबास गर्ने थुप्रैका फोनमा नेपालतिरबाट आफन्त र साथीभाइका इन-कमिङ्ग कल वा इमेल र च्याटका इनबक्स मेसेजहरूले भरिभराउ छन्। स्वाभाविक पनि हो।
युरोप, त्यो पनि डेनमार्कको कलेजबाट भर्ना पाएपछि अनि दुतावासबाट भिसा लागेको खबर आएपछि को नेपाली विद्यार्थी फुरुङ्ग नहोला। तर, बुझ्नुपर्ने कुरा राम्ररी बुझ्नु अगावै भएको फुरुङ्ग चाहीँ क्षणिक हुनसक्छ वा त्यो तनावमा परिणत हुनसक्छ भन्ने सचेतनाका लागि केही कुरा लेख्नु जरुरी लाग्यो।
कोपनहेगन विद्यार्थीका लागि बसोबास र जीवन गुजाराका हिसाबले त्यति सजिलो गन्तव्य होइन। कठिन संघर्ष र चुनौतिका सामना गर्ने क्षमतामा कटिबद्ध भएर मात्रै कोपनहेगनका लागि गुन्टा कस्नु बुद्धिमानी हुनेछ। भर्ना मिलेको कलेज कस्तो हो, सेमेस्टर फी, कलेजको स्तर आदिबारे राम्रो जानकारी लिनु अावश्यक छ। कलेजको व्यस्त तालिका र गृहकार्यपछि उपलब्ध हुने छोटो समय वा सप्ताहन्तमा सरकारले तोके अनुसार महिनामा साठी घण्टा काम गरेर जोडेको कमाइ छ-छ महिनामा सेमेस्टर फी तिर्न पुगेन भने घरबाट पैसा मगाएर फी तिर्न परेपनि तयार हुने कि नहुने, एकिन गर्नुपर्छ। नत्र, आफ्नो हैसियतको सेमेस्टर फी भएका कलेज छानेर वा छात्रवृत्ति कोटामा आउनु उत्तम हुनेछ।
कतिपय विद्यार्थीहरू साथमा डिपेण्डेण्ट लैजाने, आफू पढ्ने र डिपेण्डेण्टलाई काम गराएर पढाइ खर्च निकाल्ने सोच बुनेर पनि डेनमार्क आउँछन्। हालै डेनमार्कमा परिवर्तित राजनैतिक परिवेश र नयाँ सरकारको नीति दक्ष र प्राविधिक बाहेकको क्षेत्रका विदेशी नागरिकको प्रवाह कम गर्ने (सकेसम्म रोक्ने) प्रवृत्तिको हुनाले भिसा पाएका विद्यार्थी बाहेक उनीहरूसँग जोडिएर भिसाका लागि दिइएका आवेदन लामै पर्खाइमा पर्न सक्ने अथवा भिसा दिने कि नदिने पनि एकिन नहुने बारे आवेदक सचेत रहनु पर्नेछ। विद्यार्थीको डिपेण्डेण्ट भएर डेनमार्क प्रवेश गरेका थुप्रै आवेदकहरू डेनमार्कलाई प्रवेश बिन्दु बनाएर युरोपको कार्डका लागि सजिला देश छिरेका अनगिन्ति रेकर्डहरू डेनिस प्रशासनसँग भएको हुनुपर्दछ। यदि यस्तै मनसाय वा गन्तव्यको सोचले विद्यार्थी वा डिपेण्डेण्ट भएर डेनमार्क छिर्न खोजिएको हो भने यो अन्य सरल तरिकाहरू त्यागेर चुनौतिपूर्ण अप्ठेरो बाटो रोजिएको बुझ्नु आवश्यक छ।

♥ दिपेश बराल, झापा। 

कविता - म समयबाट डढेको ठुटो मान्छे र तिमी


म समयबाट डढेको ठूटो मान्छे
म चट्टानबाट चोइटिएको दर्शनढुंगा
म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल
म चामलभित्रको अमिल्दो धानको बिया
म बाटाभरि पोखिएको तोरी ,कोदो ,गहु ,मकैको दाना ।
म भाचिएको पूलको मक्किएको फलेक
म भुत्ते कोदालीको फुटेको बिड
म घुर्मैलो, मैलो , फाटेको आकाश
म दुखाइएको आत्माको बिरक्तिएको दिन
म गाउ समाजमा हेपिएको ,थिचिएको
आखामा फूलो परेको बोक्सो  ,बोक्सी भनि   आरोप लागेको
तिनको शब्दमा एक अलक्षिन अनुहार
अब म -
पारीजातको शिरीषको फूलकी
आफूभन्दा आधा उमेरभन्दा कम भएकी
सकमबरी जस्ती तिमीलाई
समयमा नै प्रेम गर्न नसक्ने
आर्मीबाट मात्र होइन
बहराइन  साउदी ,कतारमा 
उट गोठालो गर्दा गर्दै
कोरीया ,जापान ,यू एस र यू के मा
साझ बिहान काम गरेर
पेन किल्लर खादा खादै 
आफ्नो जीबनबाटै रिटायर्ड सुयोगबीर
मेरो तुलना कसरी तिमीसित हुन सक्छ र !
म लिलबहादुर क्षेत्रीको बसाइको
भर ,अभरमा सघाउ ,पघाउ गर्ने
दूरगम,गाउघर ,छर छिमेक डुल्ने
बाख्रा धपाएर हिड्ने मोटे कार्की
तिमी बसाइ उपन्यासको
संघार नाघेर बाहिरको संसार टेकी सकेकी
क्यानाडा ,पोर्तुगाल ,इजरायल ,सुजरल्याण्ड घुमिसकेकी
पोष्ट मोर्डन झुमासित
म के भला कुसारी गरौ र !
बरू बिन्ती !
बिर्सी देउ
सम्झेर मलाइ हर युधिष्ठिरहरू
जो तिमीलाई बेच्ने दाउमा बसेका छन
छोडी देउ मलाइ
सोचेर हर रामहरू
जो तिमीलाई अग्नि परीक्षाको नाममा
तिम्रो शरीरमा आगो सल्काउन  उताउलिएका छन
मान्छौ भने-
हर युगमा तिमी सिता नबन
हर युगमा तिमी द्रौपदी नबन
बरू श्रमले पासांगलामु भएर रमाउ
यतार्थमा भिर्कूटीमा आफूलाई सजाउ
पल पल पारीजात भएर लम्क
अत्यचारमा झासीकी बाइ बनेर चम्क।
अब -
मात्र सम्झ एउटा निस्कलन्कित मोटे कार्की
मात्र सम्झ एउटा प्रेम  गर्न नजान्ने प्रौढ सुयोगबीर
बस कहिले मलाइ याद नगर
म समयबाट डढेको ठूटो मान्छे
म समयबाट डढेको ठूटो मान्छे ।


♥ बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम :भानु भक्त दुलाल
दमक ,झापा
हाल : अबुधाबी ,यू ए ई

गजल

यतातिर नहेर्नु घरिघरि, मैले भनिदिएकी छु।
गर्न पाउनेछैनौ मनपरी, मैले भनिदिएकी छु। 
अलिकति ठाउँ खाली हुँदा छेउमै बस्न आइपुग्यौ,
केही गर्न दिन्न नजिक सरि, मैले भनिदिएकी छु। 
भयो कुनै जिद्दी गर्दै नगरे हुन्छ मसँग तिमिले,
जादैँ जान्न म प्यारको नगरी, मैले भनिदिएकी छु। 
सधैं सधैं तिमी यसरी हतारीन्छौ र त रिस उठ्छ,
पर्ख!अघि बढौला न सुस्तरी, मैले भनिदिएकी छु। 
कति मिठो आभास हुनेछ बर्षात हुँदा पिरतीको,
हामीसँगै रमाउनेछ झरी, मैले भनिदिएकी छु। 

♥ निशा पौडेल "प्रतीक्षित"

कविता - आमाको श्रद्दा

देशको लागी लड्नै पर्रयो राष्ट्र जोगाउन।
सकियन कहिल्यै पनि घरमा रमाउन।।

गौतम बुद्ध जन्मियको देश नेपालमा।
क्रान्त्रीकारी योद्दा भय जनता नेपालमा।।
शोसकर शामन्तीलाइ ढाल्न हिडेको।
प्रजातन्त्र ल्याउनलाई युद्द लडेको।।

पिट्ठुमा बोकि सधै हुर्रकायौ आमा।
आदा पेट खायर जानु हुन्थ्यो मेलामा।।
बाँजो बारी खन्नलाई बोकि कोदालो।
जन्म दिने मेरि आमा हजुरलाइ कति भो गाह्रो।।

खुईया गर्दै चौतारीमा बिसायर भारी।
दुख पोख्ने कोहि छैन रुदै आँशु झारी।।
कतै मनमा शान्ती छैन यस्तै रहिछ चाल।
आँशुले साँझ बिहान भरिदो हो थाल।।

बिवश्तामा मलाई बुझी गाली नर्गनुहै।
जती पीडा भयपनि आँशु नर्झानुहै।।
हजुरको मःम ता मा खुशी साथ जियको छु।
जुनीभर खुशी दिने प्रण मैले गरेको छु।।

बाबाकी अर्रधाङगिनी भई एक्लै जीउदा।
गाली गर्नु हुन्छ होला घरको छानो चुहिदा।।
फरियार चौबन्दि फेरि दिने को होला।
चाडबाड आउदा आमा कति मन रोला।।

रगतको टीका लाई बन्दुकको नाल बोकि।
खाई कस्समा आउला आमा गाउँमा शान्ती बोकी।।

♥ छबि किरण ओली, झापा। 

मुक्तक

नेपालले काँचुली फेर्ने पर्छ अब। 
जनताको दुखलाई हेर्नै पर्छ अब। 
संबिधानलाई अङ्गीकार गरेर सबले,
नियम/कानुन परिधिलाई टेर्ने पर्छ अब।

♥ प्रभा आचार्य, झापा। 

मुक्तक

गाउँले भन्छौ मलाई त तिमिलाई सुन्दर शहर मिलोस।
गरिब छु म तिम्रो नजरमा तिमिलाई धनि वर मिलोस।
झुपडिमै रम्छु म त प्यारो लाग्छ साग सिस्नो,
सुनचादि हिरा खाने तिमिलाई विशाल घर मिलोस।

♥ मुक्तिनाथ घिमिरे, झापा। 

तर सिसा टल्कीरहेको थियो। 

त्यसको महिमा सुनेर
ऊ दङ्ग पर्थ्यो
त्यसको चमक परबाटै देखेर ।
त्यसैलाइ हेरेर, सानैदेखि
आफ्ना आँखामा सपना साच्यो
मस्तिष्कमा कल्पना बुनेर सम्हाल्यो
मुटुमा विश्वास जमाएर राख्यो ।
त्यो सीसामा आफ्नो नाम लेख्ने अठोट गर्यो ।
दुनियााले हेरेर वावाहि गरेको मीठो कल्पना गर्यो ।
'तैले त्यहाँ आफ्नो नाम लेखेरै छाड्नेछस बाबु'
कसैले उसलाइ हौस्यायो ।
'तँलाई म सहयोग गरौला'
कसैले वाचा गर्यो ।
'त्यसैमा एकचीत्त भएर लाग कान्छा,
केहि परे म हेरुंला'
कसैले कसम खायो ।
तीनै कसमहरु सम्झेर
तीनै वाचाहरुमाथि विश्वास गरेर
तीनै हौसलाहरुले उचालिएर,
आफ्नो नाम त्यस सीसामा लेख्न
ऊ दौडियो ।
एकटक सीसामा हेरेर दौडीइ रहँदा
उसले बुनेका कल्पना अझ बाक्ला भए
उसले सााचेका सपना अझ बलिया भए
उसले जमाएका विश्वास अझ गाढा भए
पछि नफर्कीइ ऊ दौडिइरह्यो ।
तर, 
अग्लो ठाउँमा सजाइएको त्यस सिसामा
आफ्नो नाम लेख्न
उसका सपना, कल्पना र विश्वासले पुगेन
कसमहरु तोडिइनलाई थिए, तोडीए
वाचाहरु भत्कीनलाइ थिए, भत्कीए
हौसलाहरु पनि जीवित रहेनन् ।
अनि,
उसले मिहिनेतलाइ सिंडी बनायो,
अनुभवका बीम जोड्यो सिंडीमा ,
सर्टिफीकेटका तख्ता थप्यो ।
थामीदीन्छु भनेका हातहरुले छोडिदिँदा
मुस्कीलले जोगीादै,
कफल्ला अनुभव र सर्टिफीकेटमा
बडो होसियारीले टेक्दै,
ऊ सीसा अघिल्तिर पुग्यो,
जहाँ उसले आफ्नो नाम लेख्नु थियो।
ढीलो नगरीकन सीसामा राम्ररी फुक्यो उसले
र, आफ्नै सासमाथि नाम लेख्यो ।
एक निमेष, खुशीले पागल भयो
आहा नाम लेखियो।
सपना साकार भयो,
कल्पना सार्थक भयो ।
अर्को निमेष, दुखले पागल भयो
ला ,, नाम मेटियो,
सीसामा अडेको बाफ अघि बीलाएछ,
नाम त अघि नै हराएछ ।
फर्केर,
लामो यात्रा गरेर आएको बाटोलाइ हेर्यो
अब के लीएर, के देखाउन फर्केर जानु ?
फत्रक्क गलेर ऊ टोलाइरह्यो, 
आकाश तिर हेरिरहने पुरानो इनार झैं,
तर सदा झैं,
सीसा अपलक टल्कीइनै रहेको थीयो,
सीसा अर्थात काठमाण्डू। 
♥ उज्वल प्रसाईं, झापा।

गजल

बाध्यताले यो साल पनि रहर बाँधी राखेको छ।
माइती घरको वियोगले यो मन साँचै फाटेको छ ||

पोहोर साल वाचा गरें आगौं पक्कै आउँछु भनि,
नियतिले ठग्यो मलाई बिवस्ताले गाँजेको छ ||

सम्झँदैछु ममताको आँचल भित्रै हराउँथ्यौ,
त्यै अतितको झल्को फेरी आँखै भरि नाँचेको छ ||

किन आउँछ चाड बाड चेलीको मन दुखाउँन,
भाग्यले नै दु:ख सँग गहिरो नाता गाँसेकोछ ||

माइती राजा सम्हाल है आमा बाबा घर गृहस्थी,
ऐठन चल्दा सम्झनामा ,यो मन दुख्न थालेको छ ||

♥ साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल

कविता - (बा अब म घर आउछुँ)

गाउँमै हलो जोत्छु या कोदाली समाउँछु
रोपेर अन्न बाली हरियाली बनाउँछु
कहिले मकै त कहिले गहुँ अनि धान लाउँछु
 भो बस्दिन म बिदेश बा अब म घर आउछुँ ।

चाहिदैन चिकेन मट्न गुन्द्रुक भात नै खान्छु
चहिदैन महल मलाई झुपडी नै सजाउछु
चाहिदैन सम्पती गरि-बी मै रमाउछु
भो बस्दिन म बिदेश बा अब म घर आउछुँ ।

तपाई ठीक हुनुहुन्थियो बा मै गलत थिँए
तपाई झुपडिमा रमाउदा म सपनाको महल सजाउथिँए
तर अहिले तपाई जोतेरै खानुहुन्छ म जोतिएर खादैछु
तपाई एक्पल्ट जोतेर सालभर खानु हुन्छ
म नजोतिए खान पाउदिन जोतिए खान पाउछुँ
भो बस्दिन म बिदेश बा अब म घर आउछुँ ।

तपाईको सपना मातृभुमिमा छ
मेरो सपनाले प्रवासी बन्नु पर्‍यो
तपाई आफ्नै जोतेर मालिक हुनुहुन्छ
म अर्काको दासी बन्नु पर्‍यो
हेला गर्थे तपाईको चियातिएको कपडालाई
मैले सोचेँ म मिठै खान्छु राम्रै लाउछुँ
सपना चकनचुर भयो
भो बस्दिन म बिदेश बा अब म घर आउछुँ।

तपाईको पसिना मातृभुमिमा झर्यो
मेरो पसिना बेकारमा गयो तपाईको सपना पुरा भयो
मेरो सपना अधुरै रहयो
पैसाको लालचले आफ्नो सँग बिछोडिनु पर्‍यो
पलपल सम्झनामा तड्पिरहनु पर्‍यो
अब गाउमै हलो जोत्छु या कोदाली समाउँछु
च।हिदैन महल मलाई झुपडी नै सजाउछु
भो बस्दिन म बिदेश बा अब म घर आउछुँ ।

♥ दिपेन्द्र आचार्य, झापा।

गजल 

चिल्लो पिरो मर- मसाला रातो बुढीको।
मेरो शरिर  मात्र  हो' नि  पातो  बुढीको l

उसैको भरमा चल्छ  साझ  बिहान  घर,
चुलो चौका ढिकी नाम्लो जातो बुढीको l

रात-दिन  लावालस्कर  पाहुनाको  ताँती,
सालो,साली, मामा-माइजु नातो बुढीको l

केहि भन्नु हुन्न अचेल ठसक्क ठुस्किन्छे,
मेरो जान्छ उसको  आउँछ  सातो  बुढीको l

♥ दिनेश आचार्य "मंडू", लखनपुर, झापा।

गजल

बिल्कुलै अनौठो भान हुँदैछ।
चोरहरुको यहाँ सम्मान हुँदैछ । 

हत्यारा मस्त खुलेआम हिँड्छ; 
निरपराधी जेल चलान हुँदैछ । 

अन्जानमा हुनु फरक हो तर, 
गल्तीहरु त जानाजान हुँदैछ ।

ढलेको लोटो नउठेको धेर भो,
भन्छन समस्या समाधान हुँदैछ ।

बेपत्ता भएछन् भगवान अचेल,
देख्दैछु मन्दिर सुनसान हुँदैछ ।

फूकीढलको'नि दिन फिरेछ क्यार,
हेर कस्तरी बलवान हुँदैछ ।।

♥ प्रचुर अभाव, बुधबारे, झापा। 

गजल

सुर्य पनि लज्जित हुन्छ जब साँझ पर्छ ।
शक्ती सबै बन्चित हुन्छ जब साँझ पर्छ ।
उदाउँछ शक्तीशाली फणाँ फिजाएर ,
आफ्नै प्रकाश अमृत हुन्छ जब साँझ पर्छ ।
डगमगाउँदै आफ्ना अस्त्र छर्छ संसारमा ,
बिरहकै संगीत हुन्छ जब साँझ पर्छ ।
मन्द मन्द रोशनीको साहुती पवनमा ,
रोशनी त्यो अतित हुन्छ जब साँझ पर्छ ।
("कन्काईका सुस्केरा" बृहत संयुक्त गजल संग्रह बाट)

♥ शिव सुवेदी, शान्तीनगर, झापा।

गजल
तिम्रो माया जरै काटि मास्छु म अब॥
तिमि बिना पनि एक्लै बाच्छु म अब॥
सधै भरि दुख मेरो साथमा भए पनि॥
उमगंको बहाना बनाई हास्छु म अब ॥
मैले छोडे भने उ मर्छ भन्छेउ अरे॥
तिमि सँगको बियोगमा त नाच्छु म अब॥
मलाई पनि मनपराउने नभएका काहा हुन र ॥
तिमिलाई भुलि उनि सितै नाता गास्छु म अब॥
♥ सुरेन्द्र भण्डारी, राजगढ़,हाल - पुर्वान्चल दैनिक, बिर्तामोड, झापा। 

गज़ल

अफ्ठ्यारा बाटोहरु पार, गर्न बाँकीछ जीन्दगीले।
र अधुरा स्वप्न साकार, गर्न बाँकीछ जीन्दगीले।
दिनहुँ ढल्किन्छ उमेर, देह पनि स्थिर रहँदैन,
सुख र दुःख बारम्बार, गर्न बाँकीछ जीन्दगीले।
जननी ! तिम्रो सुरक्षामा, अझै खुकुरी उठाएर,
कठोर निर्णय दुइचार, गर्न बाँकिछ जिन्दगीले।
बिकाशको मूल फुटाउनु छ, देश समृद्ध बनाउन,
समाजमा अनेक कार्यभार,गर्न बाँकीछ जीन्दगीले।
चितामा शरीर जल्दा यदि,आत्मा 'दोषी' रहन्छ भने,
दु:खीत आत्माको उद्धार, गर्न बाँकीछ जीन्दगीले।

♥ मदन न्यौपाने "दोषी", झापा। 

"म,बाबा र जीवन"
(पत्र-कविता)

श्रदेय बाबा,
सधै-
हजुरको सामिप्यताको आगनमा
एउटा सालिन जीवन
खेलिरहेको हुन्छ-
सस्कार,सभ्यता र कर्तब्यबोधका
रंगीचंगी खेलौना र पुतली बोकेर!!
हो-बाबा,
हजुर गुरु होइसिन्छ!
हजुरको जिबनीबाट,
सहनसिलता-आत्मासन्तुष्टी-धैर्यता-मानवता
र,
लाखौ पाठ सिकेर
सानले बाचेको यो जिबनले
अभाव बिरुद्दका हजार लडाई जितेको छ-
जीवनका युद्द मैदानहरुमा!!
मलाई याद छ-
हजुरले "म" हरुका लागि
आधा जुनी जीवन निशुल्क सुम्पिसक्नु भो,
यो पनि थाहा छ-
हजुरले "म" हरुका खुसीका निम्ति
ओठका एक अन्जुली खुसी बन्धकी राखेर हास्नु भएको छ !!
बाबा,
अब जिम्मेवारीको सत्ता हस्तान्तरण गर्नुस!!
र,
मलाई सुम्पिदिनुस जीवन चल्तीका खाताहरु
प्रण गर्छु-
हजुर समक्ष
पिठ्युमा जिम्मेवारी बोकेर
हजुरले देखाउनु भएका बाटाहरु,गन्तब्यहरु
"म असल छोरो हुँ" को सपथ लिन्छु
र,
तय गर्छु यात्राहरु-जीवन बोध गरेर!!
हो बाबा,
हजुरका हातहरु शिरोपर हुनेछनर,
हजुरका आशिर्वाद सफलता हुनेछन
जसरी,
हजुरका एक एक पाईलाहरु
मेरा लक्ष्य बनिरहेकाछ्न!!
-हजुरको छोरा !!

♥ ईनोसेण्ट राजन, झापा।

गजल कृति "कन्काइका सुस्केराहरु" बाट यहि गजल पुजनिय पिता जि लाई समर्पित गर्दै संसारका सबै बुबाहरुमा शुभकामना ।

गजल

भयो अब दुख नगर, भन्नू हुन्छ बाले।
पैसा खातिर ज्युदै नमर, भन्नू हुन्छ बाले।

स्वाभिमानी नेपालिको, छोरो होस त बाबू,
पराइको शरण नपर, भन्नू हुन्छ बाले।

सुबासना छर्नु पर्छ, तैले यो देश भरी,
प्रबासमै ओइली नझर, भन्नू हुन्छ बाले।

कति सिच्छस पसिनाले, परदेशको माटो,
खेत खल्यान भए बन्जर, भन्नू हुन्छ बाले।

रोइ रहेछिन नेपाल आमा, आइज छोरा अब,
हसाउनुछ देशको अधर, भन्नू हुन्छ बाले।

मर्ने बेला तेरै काखमा, प्राण जाओस छोरा,
साचेको छु यति रहर, भन्नू हुन्छ बाले।


♥ जि. पि. तिवारी, झापा। 


नेपाली गजलका पिता मोतीराम भट्टको जन्म १९२३ भाद्र कृष्ण औसीका दिन काठमाण्डौको भोसिको टोलमा भयको थियो।
उहाँको ठिक १५०औ जन्म जयन्ती को अबसरमा एउटा देश दुखेको
‪‎गजल‬
मन्दिरमा जती सुकै रगतको खोलो बगाए पनि।
सुन्दैन पुकार ईश्वरले फूलपाती चढाए पनि॥
कानुनको नजर बाट अपराधि फ्रहार हुन्छ।
के अर्थ छ हत्यारालाई सरकारले समाए पनि॥
आमा नभए टुहुरा भोक भोकै ती सडकमा।
साहारा खोज्दै चिच्याउछन् जतीनै निदाए पनि॥
भाईचाराको अन्तय गरी जताततै बन्द हड्ताल।
भईरहेछ हाम्रो देशमा नयाँ नेपाल आए पनि॥
अशान्ती बोकी चराहरू उडि रहेछन् आकाशमा।
त्यसैले त सुन्दैन कोहि जती सुकै कराए पनि॥

♥ छबि किरण ओली
बिर्तामोड नगरपालिका-०९, शैनिकमोड, झापा।

गजल

किन दुख्छ अचेल मुटु चोट बिना पनि!
के के दोस लाउछन खै खोट बिना पनि। 
:
सहजैले चलेको थ्यो जीवन पराकालमा,
म नि जीवन चलाइदिन्छु नोट बिना पनि।
:
यात्री हु म हिडेकोछु अनकन्टार यात्राहरु,
कहि न कहि पुगिएला नि अठोट बिना पनि।
:
प्रेमको युद्ध लड्दै छु चुनौतीभो तिम्रा लागि,
हो सहजैले त्यो मन जित्छु भोट बिना पनि ।


♥ भिजन गुरागाई
शिवसताक्षी- १, झापा।

मुक्तक

ढुंगा जस्तो कठोर मुटु चिसाएर हेर। 
मेरो लागी थोरै माया मिसाएर हेर। 
तिम्रा सारा दुःख मै सहि दिउला प्रिया,
मेरो दिलमा पिरतिको भारी बिसाएर हेर। 

♥ प्रदिप चापागाईं, चकचकी, झापा।

गजल

दिदीको हात मेरो निधार खाली भो यसपाली।
परदेशीलाई समय नै जाली भो यसपाली।

पोहोर पनि उस्तै भयो बाचा गरे ऐले आउने,
साहुको काममा ब्यस्त माली भो यसपाली।

मोति दाना आँसु सँग नझर्नु है मेरी चेली,
चैत बैसाख खडेरीको बाली भो यसपाली।

सम्हालेर राखिदिनु मेरो शिरको शिर टोपी,
आर्शीबाद माया पनि गाली भो 
यसपाली।

बाचा गर्छु तिम्रो पाउ शिरले अब छुन पाउँने,
अनि दङ्ग उमंगको लाली भो 
यसपाली।

♥ माईनस प्लस संग्रौला
गरामुनी, झापा।

मुक्तक

अरु रुवाइ आफू हाँस्ने, कस्तो परम्परा।
अर्को मारी आफू बाँच्ने , कस्तो परम्परा।
कहाँ गयो नेपालीको, अपनत्व खोइ,
अचानोमा देश राख्ने , कस्तो परम्परा।।

♥ जि. पी. तिवारी, झापा। 

मुक्तक

 
यो मुटुको चाल यसै, रोकिन्छ कि कतै। 
मनको पीडा आँखाबाट, पोखिन्छ कि कतै। 
बेमौसमी हावा आइ, झस्काउंदा यो तन,
अनायासै सपना अन्तै, ठोकिन्छ कि कतै ||

♥ सावित्रा लुइंटेल घिमिरे, झापा। 

निराजन लुइँटेलकथा – प्रेमनगरी

बिहानै उठे मोबाइल चेक गरे एस एम एस थिएन,फेसबुक खोले त्यहाँ नि थिएन ।इमो भाइवर कतै उनको म्यासेज थिएन । हैट केटाको आइडियाले काम गरेछ मक्ख पर्दै धन्यवाद दिए । फोन गर्न खोजे ब्यालेन्स नभएको जानकारी आयो । होइन हिजो ५० रुपैयाँ हाल्या कसरी सकिएछ ? यो मुला एनसेलले पनि कंगाल पार्ने भयो ।१२००० तलब त यसै सकिने भयो यसरी नहुने भयो । सोचे सुवास कतारमा छ म्यासेज लेख्नु पर्यो एउटा भिषा मिलाइदे भनेर । त्यो मुले सुवास हुन त मिल्ने साथी हो हिजो आज ठूलो भएको छ हाम्रो कुरो सुन्दैन । पोहोर सम्म कलेजमा मेरै जुठो खान्थ्यो आज कमाएर ठूलो पल्टियो । कति न पढेर ठूलै हाकिम होइन्छ भनेर पढाइ अगाडी,उसले जित्यो बिदेश गएर । टुङ टुङ म्यासेजले सोच भंग गर्दियो ,मोबाइल हातैमा थियो म्यासेज हेरे राजेशको रैछ,अब टेक्स गर्न पनि ब्यालेन्स छैन । यसो हेरेको ममी किचेनमा खाना बनाउदै हुनुहुदोरैछ ,बाबा सायद राजनीति छाट्न चौकमा जानुभएको होला अनुमान लगाए ,लुसुक्क पसें कोठामा अनि दबाए राजेशको नम्बर साउतिमा बोले ओइ मुलाङ ब्यालेन्स छैन कल मि । लेन्डफोनबाट एनसेलमा कल गर्न बन्देज थियो बिलको रकम बढ्ने हुनाले तर आफ्नो अर्को उपाय थिएन। यसरी लुकिछिपी कति फोन गरियो पछि बिल आएपछि बाबाले हप्काउदा मेरो आफ्नै मोबाइल छ,ब्यालेन्स हुदा यतैबाट गरिन्छ नत्र साथीलाई मिसकल गर्दा फर्काउछन हजुरको लेन्डफोन छोइन्न । बोरु हजुरलेनै पो कल गर्नुभएको हुनुपर्छ ,नम्बर चिन्नु हुन्न कुन एनसेलको कुन एनटिसीको । यसरी उल्टै बाबालाई दोषी घोषणा गरेर उम्कियो ।
फोन बज्यो ममि चिच्याउनु भयो ओइ तेरो के काम छ ह ?हिजो आज तेरो चाला ठीक देख्दिन है, घरमा केही सघाउने पनि होइन फोन उठाउनु पर्दैन ? ह्या ममी उठाउदैछु त हो कति करा ? घरको काम के छ र घरको काम गर घरको काम गर भन्नुहुन्छ? रीसाएरनै जवाफ फर्काए । साथीले भिषा दिन्छु भनेकोछ अब म पनि बिदेश जान्छु दिन रात ल्याङ ल्याङ सुन्न सक्दिन । बल्ल बल्ल पाएको त्यो बोडिङको जबले पकेट खर्च निस्किदैन बाबाले सुक्को चुहाउनुहुने होइन हजुरसँग माग्यो उल्टै ल्याङ हानेर ट्याम्पर बढाउनुहुन्छ । झन जंगिएर बोले । कुरै कुरामा फोन उठाउन भुलेछु पून घण्टी बज्यो फोन राजेशको थियो दुई रिङ राम्रो सँग बजेको थिएन उठाएं ।
अ भन केटा के छ फोन गर भनेर किन फोन नउठाएको? उसले सोध्यो ।
के हुन घरमा सुड्डा सुड्डीले ल्याङ हान्छन् बिहान बिहान । अनि तेरो आइडियाले काम गर्यो है । त त बिछोडको गुरुनै रैछस नि । सैतानी आइडियाले भरिएको तेरो गिदीलाई सलाम । सुनासो अनि खुशी एकै पटक साँटे ।
ल ल अब पुरानो साइड लागि हाली अब नयाँ खोज्ने होइन ? उसले सोध्यो
के खोज्नु यार कंगाल मात्रै बनाउछन , फिस्स मुस्कान दिएर लुट्न थाल्छन् । अब हेर गाई पालिन्न दुध मात्र खाइन्छ दुनियाँ टेन्स किन लिनु । मागेको बाइकमा कति घुमाउनु गल्फ्रेन्ड त्यो पनि दुई दिने गल्फ्रेण्ड । मैले आफ्नो कुरा राखे
तेरो बाबुनी लाष्टै क्याँ अहिलेको जमनामा नि साइकलमा हिड्छन । कम्तिमा हुर्किएको छोराको त ईज्जतको ख्याल गर्नु । आफ्नो त बा बिन्दास बालै छैन बुढालाई बाइक किन्दिएको छन् ,जागिरको टेन्स न ,पैसाको टेन्स । हे ! भगवान अर्को जन्ममा नि गाठिस बाउनै देउ है । राजेश
तेरो बाउ राम्रो होइन एक नम्बरको भष्ट्रचारी हो हामीलाइ थाहा छैन र ? कालो धनमा मोज गर  खप्परमा त लेखेकै रैछस नि साले । व्याङ मिसाएर गाली गरे मैले उसले कति बुझ्यो ।
ह्या छोड भरे बेलुका बोडिङ्ग छुटेपछी बंगालीकोमा आइज एक प्याक टुच्च लगाउनुपर्छ । उसले प्रस्ताव राख्यो ।
होस यार सधै पिउन्न ,हिजो नि बाबाले थाहा पाएछन गाली गर्दै थिए । खाएको बेला गाली गर्दा ट्याम्पर हाइ हुन्छ अनि जे पनि हुन सक्छ । बोरु म माछा खाउला त पिउनु । डर मिसाए मैले
त डाका पहिले माछा भन्छ्स पछि ट्याङ्की होस मेरो डबल ठोक्छस् तँ नचिनेको ड्याङको मुला होस र ? अनि साँची भोलि बिर्तामोड जानुपर्छ त्यो सं******* होटलमा भर्जिन ल्याएको छ रे चाख्न जानू पर्छ । रेट हाइ छ रे तर बालै भएन नि मेरो सुड्डोलाई फकाएर क्यास झारीहाल्छु नि ।अब म राख्छु भोलि ९ बजे कुथुक्स थुरेर चोकमा आइज नि । उसले  कुरा फाइनल गरेर फोन राख्यो ।लामो हाइ गर्दै म लागे नुहाउन ।
त्यसै त्यसै नुहाएर पनि मुड फ्रेस भएको थिएन , ९:३० मा गेट भित्र नपसे पिन्सिपलको ल्याङ सुन्नुपर्छ । त्यो पिन्सिपलको मुख हेर्नै मन लाग्दैन तर पनि बाबुको कमाइले केही नभए आफैले कमाउनु पर्ने बाध्यता । कहिले काहीँ भगवानलाई दिल खोलेर गाली गर्न मन लाग्छ आखिए मलाइ कुनै धनीको घरमा जन्म दिएको भए उनको केनै जान्थियो ? तर गाली मनैमा दबाएर राख्नु पर्ने बाध्यता ,गाली गरेर आफ्नै रक्तचाप बढाउनु भन्दा अर्को फाइदा थिएन।
खाना खाएर पुरानो साइकल टिपेर लागे स्कुल , आज पढाउन मननै थिएन ।तर नुनको सोझो गर्नै पर्यो । मन नलागी नलागी पढाएँ,के के पठाएँ कसरी पढाएँ आफैलाई ज्ञान छैन। बल्ल बल्ल चार बजाएर घर गएँ । घर पुगेर नास्ता गर्न बसे अह मन मान्दै मानेन। ममिले के भयो किन मुख अध्यारो छ त बाबु भन्नु भयो । केहि भएको छैन ममी भनेर टार्न खोजे तर आमाको नजरबाट संतानको पीडा लुक्न सक्ने कुरै भएन । मलाई हातमा समातेर काखमा सुताउनु भयो,कपाल मुसार्दै सोध्नु भयो , के भएको छ भन्? हिजो आज जे भने पनि त नराम्रो मात्र सुन्छस् । खाना पनि राम्रो सँग खान छोडिस् । ममी पनि केहि भएको भए म भन्ने थिइन,हजुरलाई आज सम्म केहि लुकाएको छु?उल्टै इमोसनल ब्ल्याक मेल गरेर उम्किन खोजे।तर आमाको त्यो मायालुपनले मेरो बेथा झन बल्झियो ,अतित उम्लिएर आयो मानसपटलमा । मिग(mig) ३३ बाट हाम्रो भेट भएको एक ताका म मिगको क्रेजी ।धेरै साथीहरु थिए अझ भनौ मेरो लिष्टमा केटा भन्दा केटीनै बढी तर पनि कता कताबाट देव्यानी सँग मेरो निकटता बढ्यो मलाईनै थाहा छैन। हाइ हेलो हुदा हुदै हामी यति आत्मिय भयौ कि रात भर गाजेर कुरा गर्न थाल्यौ।एक साथीबाट माथी उक्लिएर कुरा गर्न थाल्यौ।एक श्रीमान श्रीमती हुने सबै कुरा च्याटमा हुन थाले,बीना लाज बीना धक हामी घण्टौ घण्टौ कल्पनाको सागरमा स्खलित हुन थाल्यौ । केहि समय पछी  फोन नम्बर साटासाट भयो।अब झन् हामी फोनमै हराउन थाल्यौ विगत ८ महिनामा यस्तो रात थिएन उनि सँग कुरा नभएको होस्।हिजो देखी त्यो क्रम भंग भयो।खोइ कुन भुतले मलाई अब हाम्रो सम्बन्ध अगाडी बढाउन हुन्न भन्ने आदेश दियो । हामी घण्टौ घण्टा बुट्टाबारीको चिया बगानमा घुम्थियौ । हामीले तन मन सबै बाँडी सकेका थियौ । फोनमा कुरा हुदा काली तलाई भेटौ न मात्र डल्लै खाइदिन्छु भन्दा अहो ! अहो! फुर्ती हेरन दम जसको छैन उसैले डल्लै खाने गफ किन गर्नु,प्रतिस्पधा गरौ कसले कसलाई खादो रैछ।मलाइ कता कता लाज लागेर आउथियो,ग्लानी हुन्थ्यो । उ सँग बिताएका पल पल मलाई हिरा जस्तै अमुल्य लाग्थे।तर समयले फड्को मार्यो। उसले अझै मलाइ माया गर्छे,सायद म पनि माया गर्छु -आज यस्तो फिल हुदैछ।सादय माया छुट्दा मात्र फिल हुदो हो । भन्छन् नि साथैको देउता हेला हुन्छ भनेर । अर्कैको बाइक मागेर दकमको चिया बगान कहिले कन्यामको बगान घुम्न हिडियो । उनलाई पछाडी राखेर हिड्दाको मज्जा स्वर्गीय थियो ।
खासमा आज ग्लानी हुदैछ साथीको लै लै मा लागेर कतै मैले आफ्नो अभिन्न अंगलाई पन्साउन त लागेको छैन ? म सोच्नै सकेको छैन ।पाथीभरा भाँकेर खाएको कसम पनि तोड्न सकिन्छ? हे ! भगवान मलाई दिशानिर्देश गर । म पथभ्रष्ट हुदैछु या सहि पथमा हिड्दैछु अन्योलमा छु । बिहान उठदा जुन ताजगी ममा थियो अहिले घटेर ० लेबलमा पुगेकोछ । देव्यानी मलाई माफ गर ।
एक हप्ता अगाडीमात्रै साथीले उसको मोबाइलमा तिम्रो म्यासेज देखायो । त्यसमा लेखिएको थियो ” तिम्रो साथी मूर्ख रैछ,म उसलाई खेलाउना बनाउदैछु । मेरो लक्ष्य खेलाउनु हो,त्यो जस्तो पाखे सँग प्रेम गर्न सक्दिन । मैले कल गर भन्दा कल गर्ने,मलाइ ब्लालेन्स चाहियो भन्दा ब्यालेन्स हाल्दिने एउटा मूर्ख पात्र मैले खोजेको जो भेटाए अब मेरो मन उ बाट टन्न भयो । ”
जब मैले यो पढे म भक्कानिए,आफ्नो सामुन्नेको साथी देखिन,आँखा तिरमिर भए । मैले केही सहारा पाइन । साथीलाई अंगालो हालेर धोको फेरेर रोएँ । धेरै बेर रोएँ बग्न दिएँ आँसुलाई मुल्यहिन पानी जस्तै । मैले सोच्नै सकिन पत्याउनै सकिन यो तिम्रै शब्दहुन भनेर । आफुलाई म बीना आधा मान्ने आज कसरी पूरा भयौ ? मनले प्रश्न गर्यो दिमाग निशब्द थियो ।
धेरै समय रोएपछी म आफै थाके साथीले बोतलमा पानी दियो मैले पानी पिएँ,केही सम्हालिन खोजे । साथीले एउटा केटीले यसो भन्दैमा तेरो दुनियाँ सक्किएको छैन ।यस्ता केटी धेरै पाइन्छन् । अब तैले पून पाइला चाल्नुछ ,प्रेमनगरीमा एउटा विशाल घर बनाउनुछ ।
भन्न सजिलो छ यार देव्यानी मेरो माया हो म कसरी भुल्न सक्छु ? म
होइन अब त सँग के उपाय छ भुलेर नयाँ दुनियाँ बनाउन भन्दा ? साथी
म बदला लिन चाहन्छु ,उसले मलाइ होइन मैले उसलाई खेलौना बनाउदै थिएँ,उसको कुमारीतब भंग गर्ने सौभाग्य जो मैले पाएँ । दुई चार सय रिचार्ज अनि केही समय बाइकमा घुमेर उसले के पाई? मैले मज्जा गरे । हो त्यो देखाउनु छ । त मलाइ हेल्प गर राजेश । मैले अनुनय गरे
राजेश मेरो एक करिवको दोस्त उसले मलाइ धेरै सहयोग गरेकोछ । मलाइ पकेट मनी,बाइक सबै उपलब्ध गराउने उनै हो । राजेशले केही समय सोचेर भन्यो । त अब मानसिक रूपमा तयार हुनुपर्ने छ ,त्यो मेरो अतीत होइन ,अतीत भएपनी म त्यो कालो सपना सम्झिनेछु भनेर त तयार हो ? हो म अब जस्तै मूल्य चुकाउनपनी तयार छु ,केही समयको पीडा भएर बगेको आँसु अबआक्रोश भएर छछल्कियो । ल ठीक उसो भए दुई तीन दिन त चुप बस । उसले फोन गरेमा सामान्य भएर कुरा गर ,टेक्स ,फेसबुक,भाइवर म्यासेज पठाउदै नपठा । अनि त्यसपछी के गर्ने म भन्छु ।
यसरी साथीको प्लान अनुसार म अगाडी बढ्दै गएँ । छट्पटी निकै बढ्यो । मैले साथीलाई भने खोइ यार मलाई कठीन हुदैछ , म सक्दिन यार यसरी बस्न । अहिले सम्म उसले कलनै गरिन । साथीले भन्यो हो ठीक छ प्लान  सफल हुदैछ । यो अवधी एक हप्ता रहेमा उ तेरो  जीवनबाट आफै हट्नेछे ।
आफू भित्र भित्रै जल्दै गए,दुई तीन चार हुँदै जादा मेरो यादमा हल्का पर्दा लाग्दै गयो । त्यो बीचमा चुरोटका कयौ बट्टा भने सकिए।कति मानसिक तनाव भोगे त्यो लेखेर साध्य  छैन । तर कसम खाएको थिएँ त्यो केटीलाई भेट्दिन,कुरा गर्दिन । यसरी आज हप्ता दिन पुग्यो । (बिहानै म खुशी एउटा डेटलाइन पूरा सकुशल पूरा भएकोमा थिएँ )।
जब बिहान राजेश सँग कुरा गरेर फोन राखे एउटा नयाँ नम्बर बाट म्यासेज आयो । नयाँ नम्बरबाट म्यासेज आएको हुनाले म्यासेज हेर्न हतारिएँ । म्यासेजमा लेखिएको थियो ” यो जूनीमा तिम्रो हुन सकिन सक्दिन,किन कसरी त्यो नखोज्नु । मैले एउटा चाल चलेको थिएँ सफल भए,साँच्चै तिमी मूर्ख थियौ मैले चालेको चाल सफल भयो । तिमी खुशी हुनु । मलाई भेट्ने,फोन गर्ने कुचेष्टा नगर्नु । भुल्दैछौ पूरा पूरा भुल्नु । म हिजो सम्म चाहन्थे मेरो अनुहारमा कालो पोतियोस तिम्रो नजरमा,धेरै सोचे म कालो पोतिएको अनुहार लिएर सधै बाँच्न सक्दिन थिएँ । कारण नखोज बस यो जूनी तिमी र म एक भएनौ । उहीँ अभागी देब्यानी ।
रोमनमा लेखिएका यी शब्द मेरो मुटुमा झिर बने रोपिएँ। आखिर म मुर्खनै रैछु । ग्लानीको अग्नीमा जति सक्छु उति जल्छु । यिनै शब्दले दिन भर मलाइ तनाव दिए । म्यासेज आएको नम्बरमा दिन भरमा २०० बढी प्रयास गरे लाग्दै लागेन । मिग बाट सुरुभएको यात्रा टेक्समा आएर सकियो । खोइ आफ्नै प्रेमलाई कसरी रिप लेखौ ?
फेसबुक खोलेर स्टाटस लेखे – “डिजिटल साइडबाट शुरु भएर दिल सम्म पुग्यौ,अन्तिम भेट डिजिटल स्क्रीनमै भयो । रिप हाम्रो प्रेम , अब यो प्रेम नगरीबाट सारा त्यागेर सुकुम्बासी बनेको घोषणा । ”
अब के प्रतिक्रिया आउछन् भोलि हेरौला ।
समाप्त !!!
♥ निराजन प्रभात

मुक्तक

साच्चै जाडो हुँदा खेरी, ऊनै चाहिन्छ साथी।
तिहुन मिठो हुनलाई त, नुनै चाहिन्छ साथी।
राम्रो रुप र फेसनको, छैन कुनै काम,
मान्छे राम्रो हुनलाई त, गुनै चाहिन्छ साथी।

♥ तुलसा बन्जरा, दमक, झापा।


मुक्तक

तिमीलाई दुलही बनाउन डोली लिई आउँछु बस। 
एक चिम्टी सिन्दुर संगै चोली लिई आउँछु बस। 
कस्तो तिम्रो सोह्र शृंगार बयान गर्न सक्दिन भो,
सप्तरङ्गी ईन्द्रेणीको होली लिई आउँछु बस।

♥ शिव सुवेदी, झापा। 

घोडा

लगामहरु तोड्न लगायौ।
सराबरको पाठ पढायौ।

थिचोमिचोको खिलाफ भन्दै,
मार हान्नलाई अघि दौडायौ।

घोडा न हो ! लगाम लगायौ,
अन्तमा, उही तबेला पठायौ।


♥ मौलश्री लिम्बू, झापा।

गजल

अलिकति दिल दुखेको छ पराइ बाट।
उस्तै उस्तै खबर छ तराइ बाट।

अर्को गाउमा जान अब भिसा नलाग्ला?
मैले बुझेको आन्दोलन गराइ बाट।

छलफलमा मुक्का हानाहान भएसी,
खै!! सम्बिधान बन्ला लापर्बाइ बाट।

बिच बजारमा हिजो अस्मिता लुटि येथ्यो,
न्याय दिलायो वकिल ले भर्पाइ बाट।

खै पाठ सिक्यौ कार्न्तिकारि भनाउदा हो?
कोहि डराउदैन अब युद र मराइ बाट।

यहाँ सुरक्षाकर्मी जिउँदै जलाइदैछ सरकार ?
जवाफ चाहियो जनतालाइ सफाइ बाट ।

♥ केशव न्यौपाने
दमक झापा।

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.