एक लेख - आत्मकथा (दिपेश बराल)


एक लेख - आत्मकथा


सेप्टेम्बर महिनाको शुरुवाततिर मेरा एक जना मित्र खुब तनावमा परे। काम गर्ने ठाउँमा होस् या साथीभाइ, भेटेका सबैसँग उनी एउटै अनुरोध गरिरहेका हुन्थे। फुर्सद भयो कि मोबाइल फोनमा झुण्डिन्थे। फोनमा उनको एउटै कुरा हुन्थ्यो- कतै कोठा भाडामा पाइन्न भन्या? उनै सहकर्मी मित्रका नजिकको साथीका दुई बहिनीहरू कोपनहेगन आउँदै थिए, पढ्नका लागि। बहिनीहरू आउने दिन नजिकिदै थियो, यता कोपनहेगन बसेको नाताले पनि बहिनीहरूका निम्ति सानो सहयोग (कोठा मिलाइदिने) को अभिभारा लिएका उनीमा कोठाकै ठेगान नभएर छटपटी थियो। यो छटपटी उनमा हप्तौं मडारियो। बल्ल कोठाको बन्दोबस्त मिलाए तर त्यो कोठाबाट सिपिआर (डेनिस सोसियल सेक्युरिटी नम्बर) निकाल्न नमिल्ने भएपछि अर्को तनाव शुरु भयो। 

मेरा ती साथी त एक प्रतिनिधि पात्र मात्रै हुन्। कोपनहेगनमा बसोबास गर्ने थुप्रैका फोनमा नेपालतिरबाट आफन्त र साथीभाइका इन-कमिङ्ग कल वा इमेल र च्याटका इनबक्स मेसेजहरूले भरिभराउ छन्। स्वाभाविक पनि हो।
युरोप, त्यो पनि डेनमार्कको कलेजबाट भर्ना पाएपछि अनि दुतावासबाट भिसा लागेको खबर आएपछि को नेपाली विद्यार्थी फुरुङ्ग नहोला। तर, बुझ्नुपर्ने कुरा राम्ररी बुझ्नु अगावै भएको फुरुङ्ग चाहीँ क्षणिक हुनसक्छ वा त्यो तनावमा परिणत हुनसक्छ भन्ने सचेतनाका लागि केही कुरा लेख्नु जरुरी लाग्यो।
कोपनहेगन विद्यार्थीका लागि बसोबास र जीवन गुजाराका हिसाबले त्यति सजिलो गन्तव्य होइन। कठिन संघर्ष र चुनौतिका सामना गर्ने क्षमतामा कटिबद्ध भएर मात्रै कोपनहेगनका लागि गुन्टा कस्नु बुद्धिमानी हुनेछ। भर्ना मिलेको कलेज कस्तो हो, सेमेस्टर फी, कलेजको स्तर आदिबारे राम्रो जानकारी लिनु अावश्यक छ। कलेजको व्यस्त तालिका र गृहकार्यपछि उपलब्ध हुने छोटो समय वा सप्ताहन्तमा सरकारले तोके अनुसार महिनामा साठी घण्टा काम गरेर जोडेको कमाइ छ-छ महिनामा सेमेस्टर फी तिर्न पुगेन भने घरबाट पैसा मगाएर फी तिर्न परेपनि तयार हुने कि नहुने, एकिन गर्नुपर्छ। नत्र, आफ्नो हैसियतको सेमेस्टर फी भएका कलेज छानेर वा छात्रवृत्ति कोटामा आउनु उत्तम हुनेछ।
कतिपय विद्यार्थीहरू साथमा डिपेण्डेण्ट लैजाने, आफू पढ्ने र डिपेण्डेण्टलाई काम गराएर पढाइ खर्च निकाल्ने सोच बुनेर पनि डेनमार्क आउँछन्। हालै डेनमार्कमा परिवर्तित राजनैतिक परिवेश र नयाँ सरकारको नीति दक्ष र प्राविधिक बाहेकको क्षेत्रका विदेशी नागरिकको प्रवाह कम गर्ने (सकेसम्म रोक्ने) प्रवृत्तिको हुनाले भिसा पाएका विद्यार्थी बाहेक उनीहरूसँग जोडिएर भिसाका लागि दिइएका आवेदन लामै पर्खाइमा पर्न सक्ने अथवा भिसा दिने कि नदिने पनि एकिन नहुने बारे आवेदक सचेत रहनु पर्नेछ। विद्यार्थीको डिपेण्डेण्ट भएर डेनमार्क प्रवेश गरेका थुप्रै आवेदकहरू डेनमार्कलाई प्रवेश बिन्दु बनाएर युरोपको कार्डका लागि सजिला देश छिरेका अनगिन्ति रेकर्डहरू डेनिस प्रशासनसँग भएको हुनुपर्दछ। यदि यस्तै मनसाय वा गन्तव्यको सोचले विद्यार्थी वा डिपेण्डेण्ट भएर डेनमार्क छिर्न खोजिएको हो भने यो अन्य सरल तरिकाहरू त्यागेर चुनौतिपूर्ण अप्ठेरो बाटो रोजिएको बुझ्नु आवश्यक छ।

♥ दिपेश बराल, झापा। 
Labels:

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.