विचार - जे भन्नुस धोती नभन्नुस (निराजन प्रभात)

विचार (लेख)

अफिसमै प्रधानमन्त्री निर्वाचन हेरी सकेपछी गेट अफिस तिर निस्किएँ, गेट अफिसमा एक जना नेपाली दाइ कन्टेनर लिएर आएका रैछन । चाहिने पेपर नहुदा पेपरको प्रतीक्षामा बसेका दाइ निरास देखिन्थे । अक्टोबरको सुरुवातमा अझै घामले आफ्नो प्रभुत्व देखाउन छोडेकै थिएन,फेरि यार्ड मरुभूमिको बीचमा हुदा धुलोले वातावरण कुइरीमण्डल थियो । भक्खर सम्पन्न प्रधानमन्त्री निर्वाचनले नेपाली राजनीति तातेको थियो भने यो विषय देखि बेखबर ड्राइभर दाइ कन्टेनर उतारेर पून दोहा बन्दरगाह जान हतार गर्दै थिए ।” दाइ के पि देशको प्रधानमन्त्री भएनी ।” मैले कुरो अगाडी बढाएँ । मेरो कुरोले सायद दाइलाइ छोएन क्यारे मुख लोपारे,अफिसमा फोन गरेर कन्टेनर झार्न पो अनुरोध गरे । “होइन हजुर कांग्रेस हो क्याँ हो ? के पी प्र म हुदा खुशी हुनुभएन नि ? ” मैले अझै प्रसंग छोडिन । दाइले भेस्टको बाउला उभो सुर्किदै भने ” यो निशान देख्यौ भाइ? यो जनआन्दोलन को चिनो हो । म एक ताका देशको लागि लडेको योद्धा ,आज यो लामो गाडी चलाएर परिवार पाल्दैछु । हिजो आज देश,अझ भनौ बहुला राजनीति देखि घृणा लाग्छ । ” आवेगमा थुक्क भनेर थुक्न सम्म भ्याए । खल्तिबाट लाइसन निकाल्दै भने- “म यो पार्टीको मान्छे हु । यसले मलाई खान दिन्छ । दस साल भयो मरुभूमि भाँसिएको अझै कति बस्न लेखेकोछ ललाटमा मरुभूमिमा । पहिले सुद्दी पुगेन अहिले दुख पाइयो । ” मनै अमिलो पार्दै भने, सक्दो अनुहार बिगारे दाइले । कता कता दुख लाग्यो , अलि अलि ग्लानी भयो बेकार गरेछु यो कुरा भनेर ।
त्यतिकै अर्को कन्टेनर लिएर यादब दाइ आए, उमेरले मेरो दाइ तर मलाई दाजु भनेर संवोधन गर्छन् । लवज या बानी भनेर स्विकार गर्दिन्छु दाजुको सम्बोधन । ” नमस्कार दाजु के छ ? के हुदैछ ? के पि भएछ है प्रधानमुन्तरी ? ” एउटा सवाल गरे जवाफ समेत । पून त्यो कुरा गर्न निको लागेन मलाई हो भनेर टाउको हल्लाए मात्र । ” स्याला मधेशका कुत्ताहरु फेरि दरबार पसेको समाचार अधि फेसबुकमा देखे मेरो त पारो चढी गो । ” आक्रोशले होला मुहार रातो देखियो यादव दाइको ।
“यो राजनीतिको कुरा नगर है ।” पहिले म सँग कुरा गर्ने दाइ कड्किए । ” होइन किन नगर्ने ? ” ती मधेशको नेता भन्नेहरु कुत्ता हो भारतको , सबैलाई थाहा छ भारतले हड्डी दिदा पुच्छर हल्लाउदै पारी जान्छ , आच्चे भनेर ठूलो श्वरले करायो भने चाक मुनि पुच्छर लुकाएर आउँछ । ती नेता हुन? हुँदै होइनन् । ” यादव दाइको कुरा गराइबाट मलाई निक्कै चासो लाग्यो अब कुरा गर्न । ” दाइ कुत्ता नि भन्ने अनि आन्दोलन गर्न सहयोग नि गर्ने ? ” कुरा बुझ्न प्रश्न गरे । “अरे दाजु (हामी दुई जना दुई जनालाईनै दाइ र दाजु संवोधन गर्छौ) कसले भन्यो मधेसको जन्ता आन्दोलन गर्दैछन् ? जतिले गर्दैछन् उनिहरुलाइ उल्टो पढाइएको छ । कतिले संविधान पढेको छैन, मैले अस्ति तपाइँको मोबाइलबाट सारेको संविधान पढेकोछु,जोअसली मधेसी हो उसलाई धेरै अधिकार दिएको छ , केही अपुग छन् तर जन्मिएको संविधानले केही आश बनाएकोछ । थाहा छ  कति बाध्यताले कति रहरले अनि कति प्रलोभनमा आन्दोलन गर्दैछन् ,कति मान्छे आन्दोलनमा यस्तो पनि आएको छन् रे जसलाई गाउँमा अझै सम्म हाम्ले देखेकै छैन (थिएन) । अब तपाईं भनिहाल्नुस के हो सच के छ झुठ ? ” हाउभाउले लाग्थ्यो उनी प्रत्यक्षदर्शी हुन “होइन दाइ तपाई यहाँ हुनुहुन्छ कसरी दावा गर्नु हुन्छ यी सब ? सत्य अझै बुझ्न मन लाग्यो
” हैट दाजु पनि म यहाँ छु यो देख्नु हुन्न ( मोबाइल देखाउदै) यसले मलाई दुनियाँ चक्कर लगाइ हाल्छ, यहाँ छु त म कुरा बुझ्न सक्दिन? सत्य अर्कै छ दाजु,तपाईं हामीको समझमा घुस्दैन यो बात । ” यादव दाइको कुरा सुन्न म लालयित हुँदै गए तर सुरुमा कुरा गर्ने  अर्का दाइ मर तिमीहरु भन्दै अलिक पर्तिर गएर फोनमा सायद घरमा कुरा गर्न थाले ,सोचे रुचि ,सोच आफ्नो आफ्नो । अरुको रुचि,अनि ईच्छा भित्रको कुरामा नजरअन्दाज गर्नै उचित लागेर, म यादव दाइ सँगै कुरा गर्न थाले,कुरा गर्न पनि के भन्नू,दाइको कुरा सुन्न थाले ।

हेर्नुस् दाजु यो दुनियाँमा हामी नेपालीको जस्तो आत्मीयता कहि देख्नु भएको छ ? उ त्यो मेरो कम्पनीको केरला ड्राइभर तपाईं को कम्पनीको केरला सँग किन बात गर्दैन थाहा छ ? किन कि उनिहरुमा आफ्नोपन छैन,आत्मीयता छैन । म यहाँ आए भने तपाईं सँग बात गरेर मात्र जान्छु,यिनुहरु गर्छ यसो ? मरेनी गर्दैन । हामीलाइ मुलुक कहाँ भनेर सोध्दा छाती फुलाएर नेपाल भन्छौ , यी डाकाहरु भारत भन्छ? यी डाकाहरु आज मेरो देश बाँड्न खोज्ने ?नेता भनाउदा उनिहरुकै साथ दिने? यी डाका प्रान्त प्रान्तको नाम लिन्छ हामी एक देश नेपाल भन्छौ । हामी यो दुनियाँ को रंगीन फुलबारीको फूल हौ,आँखा बलेकोछ भारतको । मैले दशै खर्च भनेर पठाएको पैसा अझै घरकाले पाएको छैन,सबै बजार बन्द छन् , छोरा छोरी स्कुल जान पाएको छैन । घरबाट निस्किन पनि कठिन हुदैछ । मधेशकै जनता आजित छन् बन्दले । हजुरहरु उनिहरुलाई दोष दिएर जलेको घाउमा नमक छर्कने? सबैलाई अब दशै कसरी मनाउने हो त्रास छ।  संभावित महङ्गीको भार के मधेसमा नपर्ला ? अनि तपाई भन्ने मधेसले आन्दोलन गर्यो? मधेसले बाहुन मार्यो भन्ने? के मधेसी हत्यारा जस्ता छन् ?के म दुख्दा दाजु दुख्नु हुन्न ? त्यो महन्त मेरो जातभाइ के नाप्यो मेरो लागि ? म यो खाडी नहुदा मेरो परिवार भोकै पर्छ । अनि हजुरहरु मधेसीलाई गाली गर्ने ? म हिन्दुके मलाई दशै मान्न रहर नहोला? एक नेपाली हुन मधेसीपनि आखिर कहिले सोच्नु हुन्छ तपाईहरु ? ” यादव दाइले यस्तो प्रश्न गरेकी म कायल भए । म सँग जवाफ थिएन , ” मैले कहिले त्यस्तो व्यहार गरेको छ र दाइ हजुरलाइ? ” उल्टै प्रश्न गरेर उम्किन चाँहे । ” होइन दाजु हजुरले गर्नु भएन , तर अझै धेरैले गर्छन् । मेरै कम्पनीम अरु जातको नेपालीले मेरो पछाडी धोती भन्छ । त्यो बेला मेरो रगत तात्नु कि नतात्नु ? म नेपाली हुँ कति कराएर भन्नू ? ” उनको आँखा सजल भए , अघिको आक्रोश पीडामा बद्लियो । मेरो मन कुडियो । म अवाक भएँ । मेरो पनि आँखा रसाए । सुटुक्क हातले आँखा पुसे ।
” दाजु, हामीलाइ आफ्नो मान्नुस ज्यान दिन तयार छौँ ।जे भन्नुस धोती नभन्नुस । ” उनले दुई हात जोडेर भने । एक्कासि मलाई के भयो , आत्मियताले जीउ फुलेर आयो,दाइलाइ घ्याप्प अंगालो हाल्न पुगेछु । अंगालोबाट छुटेपछि हामी दुईको आँखा जुघे दुबैको आँखामा आत्मियता,भाईचारा थिए । यस्तै भाइचारा हुने हो भने सायद नेपाल स्वर्ग हुने थियो ।
यादव दाइ कन्टेनर उतारेर गए  म काममा लागे , उनको भनाइ आज सम्म जातो र्याइ र्याइ गरे जस्तो कानमा जुञ्जिरहन्छ ।

♥ निराजन प्रभात, झापा। 

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.