लेख - वलियो विचारका वलका कविता (चूडा मणि रेग्मी)

वलियो विचारका  वलका  कविता

पञ्चायती व्यवस्थामा चेतनाको खरो सोर उराल्ने नयाँ उमेरका धेरै कविलाई डा. तारानाथ शर्मा आदि समालोचकहरूले ‘समसामयिक कवि’ भने। पञ्चायतको कुइरोले ढाकेको नेपालमा नयाँ चेतनाको चाहना गर्नेहरूलाई समालोचकहरूले दिएको नयाँ नाम ‘समसामयिक कवि’ निकै नै मन पर्दो थियो । त्यस्तो नाउँ पाउनेहरू मध्येका एक युवाकवि कृष्णभूषण वल थिए । तिनलाई धेरै पढुवाहरूले निकैनै मन पराएको विर्सिनसक्नु कुरा थियो । छँदै छ । वललाई मन मात्र पराएनन्, वलको वलियो विचारलाई असाध्य युगीन आह्वान ठानी नेपाली विषयका विद्वान्हरूले उच्च शिक्षामा ठाउँ पनि दिए । २०४० को छेउछाउमा वलको गर्जन साह्रै गतिलो थियो ।
कविता विविध ढङ्गले लेखिन्छ, लेखिएको छ । सम्स्कृतका प्रचलित छन्द (शास्त्रीय छन्द) मा नेपाली कविहरूवाट मनग्गे कविता लेखिए, लेखिदैछन् । नेपाली लोकछन्दमा पनि मनग्गे नै कविता लेखिए, लेखिदैछन् । यसै गरी मुक्तक छन्द, हाइकु छन्दको पनि लेखन प्रशस्त भयो । यति खेर गजलले व्यापकता पाएको छ । कवि कृष्णभूषण वलले भने गद्यकवितामै भावना र विचारले असाध्य गहकिला कविता लेखे, लेखिरहेछन् ।
नेपाली साहित्यमा केही साहित्यकार छन्, जो थोरै लेखेर र छपाएर पनि ती रचनाको स्तरले गर्दा आदरणीय भएका छन् । त्यस्ता आदरणीय वारे गम्दा लामै सूची ठिङ्ग उभिन्छ । हाम्रा आदरणीय कवि वैरागी काइला ‘वैरागी काइलाका कविता नामको एउटा मात्र कविता÷सङ्ग्रह वाट मात्र पनि स्तरीय कविमा गनिएका छन् । लामो गनथन नगरी भनौ –थोरै भए पनि जव्वर कविता लेख्ने एक कवि हुन् कृष्णभूषण वल । डा. तारानाथ शर्मा वललाई आधुनिक कवि मात्र होइन्, अत्याधुनिक कवि मान्छन् ।
कवि कृष्णभूषण वारे धेरै पक्षवाट विचार गर्न सकिन्छ । उनको कविताको प्रस्तुतिमा असाध्य कोमलता, मिठोपन र वैचारिकता पाइन्छ । कवितामा विचार र शैलीको सुन्दर समन्वय हुनु पर्छ भन्ने डा. तारानाथ शर्माको विचारको उदाहरण कवि वल पनि हुन् । आयामेली आन्दोलन पूर्व केही प्रगतिशील कविहरूले असाध्य फलाको उराले र प्रगतिशील कविताको नै ओजन हलुको पारेका थिए । त्यस्तो दोष कवि वल जस्ता कविले गर्दा हरायो भन्दा पनि हुन्छ । कवि कृष्णभूषण वलका थुप्रै कवितामा प्रगतिशील चेतना छ्याप्छ्यापती पाइन्छ, यद्यपि साम्यवादी दृष्टिले वलका कवितालाई प्रगतिवादी विचारका नभनियोस् ।
उनका एक दुई कविताकै यहाँ उदाहरण दिऊँ । ‘अघि वढ्ने छोरालाई’ कविताको शैली फलाको नै छ । फलाको शैली भएर पनि कलात्मक ढङ्गले लेखिएकाले यो कवितामा शैली र विचारको सुन्दर समन्वय भएको छ । एकातिर भुइँचालाको चाहना छ भने अर्का तिर सृजनाको सुन्दर प्रतीक धानको वालाको कामना छ । रुन्चे हुने र हरुवा वन्ने छोरो नरुचाउने कवि (वावु) यो कवितामा दरिलो छोरो चाहन्छन् । कवि खुला आकाश, खुला वाटो रोज्छन् र यस्तै कुराको आह्वान गर्छन् । विषाक्त छ वर्तमान, यसलाई मास्न चाहने कवि वलको छाती वलियो रूपमा भएको सहजै अनुमान गर्न सकिन्छ । कवि कृष्णभूषण वल सङ्घर्षशील युवाको चाहना गर्छन् । यो कवितामा मात्र होइन धेरै कवितामा कलायुक्त तर फलाको वाटो नछाडेका सुन्दर कविता वलले लखेका छन् ।
अर्को कविता ‘चैतको हावा उनको चलिसको दशकतिरको असाध्यै ओजनदार प्रसिद्ध गद्य कविता हो । यो कविता मझौला आकारको छ सानो पनि छैन ठुलो पनि छैन । पञ्चायतले उग्रतान्डव मच्चाएको वेला कविले चाह्यो भने जुनसुकै व्यवस्था पनि भत्काउन सक्छ भन्ने भावना दिने गरी चैतको हावाले विद्रोहको राको वालेको छ । विना विद्रोह देश वन्दैन भन्ने भावना पनि यो कविताले दिएको छ । नेपाली सशक्त कविता÷परम्परा भित्र पर्छ यो चैतको हावा । महाकवि देवकोटाको ‘पागल’ कविताको जस्तो सशक्त हुङ्कार छ यो कवितामा । छन्दोवद्ध कवि, गजल कविहरूले यो गद्यकवितावाट धेरै सिक्न सक्छन् । विद्रोहको राँको वाल्न खोज्नेले चैतको हावा अध्ययन गर्न योग्य छ । कृष्णचन्द्र सिम्ह प्रधान, मोहनराज शर्मा जस्ता नाउँ चलेका समालोचकहरूले चैतको हावा जस्ता कवितावाट कृष्णभूषण वलको कविता ख्याम्ताको छाती खोलेर प्रशम्सा गरेका छन् ।
पञ्चायत युगमा मात्र होइन्, अहिलेको युगमा अझ आउँदो युगमा पनि वलका धेरै कविताहरूले चित्रण गरेको विकृति विसङ्गति र उनले आह्वान गरेको सवल विचार सदा ताजा नै हुने छ भन्ने मेरो विश्वास छ ।

♥ चूडा मणि रेग्मी
२०६६ चैत १२ विराटनगर

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.