ब्यंग्य लेख - म पनि गोरु हुँ (लिला उदासी)

म पनि गोरु हुँ
जब म फुर्सतमा हुन्छु, त्यस बेला म अतीत सम्झिन्छु । रमाइलो पनि लाग्छ । समय, स्थान, घटना, पात्रहरू उछिन पाछिन गरेर आउँछन् । म दङ्ग पर्छु । अरूलाई पनि यस्तै हुन्छ कि ? थाहा छैन । अतीतको दुख पनि स्मरण गर्न त रमाइलो लाग्दो रहेछ । 
म सानु थिएँ । मानिसहरू मलाइ माया पनि गर्थे । मानिसहरू मलाइ गाली पनि गर्थे । सम्झन्छु, दुवैका लागि खास कारण चाहँदैनथे । म दश महिनामा मात्रृवियोगमा परेको, माया पाउने कारण यो पनि होला । लाग्छ, गाली चाही उचित कारण बिनै पाउथे । ६५ बर्ष अगाडीको पहाडी समाज, बाल मैत्री स्वभाव धेरै मुलुक पर थियो होला, समाजको ।
सम्झन्छु, जसले गाली गर्थे "गोरु" पनि भन्थे । किन "गोरु" भनेको ? आश्चर्य लाग्थ्यो । म जूवामा नारिएर खेत र बारी जोत्न नसक्ने ,कसैलाई हान्न नसक्ने, जथाभाबी चर्न नसक्ने, होक्काँ-----पनि गर्न नसक्ने, खोले र घाँस खान नसक्ने । साँच्चै म निरीह थिएँ । तै पनि मान्छे मलाइ गाली गर्थे र "गोरु" भन्थे । किन भन्थे ?
ती मान्छे, जसले मलाइ गाली गर्थे र "गोरु" भन्थे लाग्थ्यो उनले "गोरु" लाइ अपमान गरि रहेछन् । गोरुले जे गर्थ्यो, म त्यसको छेउ गर्न सक्दिनथें । त्यस बेला गोरु बिना कुनै किसानको घरबार चल्दैनथ्यो । गोरु बिनको गोठ, गोठ जस्तो हुँदैनथ्यो । खर्कमा सौहार्दता आउँदैनथ्यो । हरेक किसानको घरको, व्यवहारको मेरुदण्ड हलीको कार्य थियो । गोरु बिना कोही हली हुन सक्दैनथ्यो । तत्काल जीवन सार्थक पार्ने गोरु थियो । यस्ता कुनै गुण नभएको अबोध बालकलाई मान्छेहरू "गोरु" भनेर गाली गर्थे । मलाइ गोरु भन्दा साँच्चैको "गोरु" को अपमान भै रहेको जस्तो लाग्थ्यो । गोरुको अवमुल्यन गरे जस्तो लाग्थ्यो ।
मलाइ गोरुको माया लाग्थ्यो । जूवामा नारिएर हलो जोत्नु पर्ने, जोतारोले फनफनी बाँधिएर चल्न - चटपटाउन नपाउने, हलीले भाँति नपार्दा गोरुले कुटाइ खानु पर्ने, भोक भोकै लुर -लुर हलो तान्दै हिँडिरहनु पर्ने, गोरुले गर्ने कार्य सम्झेर मलाइ उदेक लाग्थ्यो । यस्तो उदेक कार्य गर्ने गोरुसँग दाँजेर, केही गर्न नसक्ने मलाइ मान्छेहरू गाली गर्थे र "गोरु" भन्थे । कहाँ त्यस्तो महान् गोरु हुन सक्नु र म ?
त्यसो त प्रतीकात्मक अर्थमा पनि गोरुको नाम लिइएको होला र "गोरु" भनेर गाली गरिएको होला । गोरु, प्राप्तिको चेत नभएर बाध्य पारिएको कर्म गरि रहने प्राणी हो । उस्लाई कर्मको प्रतिफलको चेत छैन । आफ्नो कर्मको प्रतिफल अरूका पोल्टोमा पारि दिने , आफू कर्म गरी रहने, प्रतिफलको होसै नरहने । साँच्चैको गीता बादी प्राणी हो गोरु । मान्छे त आडम्बरी हो, ढोगी हो । उ गीता पढ्छ । " कर्म गर , फलको आस नगर "- भनेर भाषण गरि रहन्छ । फलको सम्भावना बिनाको कार्य त उ गर्दै गर्दैन । यसरी गीता रटेर मान्छे गीता बादी हुन सकेको छैन । गीताको छेउ टुप्पो केही भेटेको छैन, तर गोरु गीता नपढी गीता बादी भएको छ । गीताको रचना काल भन्दा पूर्व देखि नै उ कर्म गरिरहेछ । फलको आशा उसले कहिल्यै गरेन । गीता रचना हुनु भन्दा अगाडि देखि नै कामबाट व्यवहारबाट बताइ रहेछ -गोरु ।
त्यस अर्थमा मलाइ गर्व बोध हुन्छ, मान्छेले मलाइ "गोरु" भनेर गाली गरेकोमा । लाग्छ, ती मान्छे त महान् हुन्, जसले बाली अरूका लागि लगाइ दिन्छन् । फलेको बाली आफ्नो ढुकुटीमा भित्र्याउँदै भित्र्याउँदैनन् । त्यस अर्थमा अरूले मलाइ "गोरु" भनेर गाली गरे पनि म असल "गोरु" हुन न सकेकोमा भने दुःखित छु । मैले अरूका ढुकुटीमा भित्र्याउने गरी बाली लगाउन सकेको छैन । मलाइ गाली गर्नेहरुले बुझे हुन्छ -म साँच्चैको गोरु हुनै सकेको छैन । 
त्यसो त सोझा, सिधा, भलाद्मी सबै गोरु हुन् -छट्टूहरूका दृष्टिमा । छट्टूहरू अरूलाई "गोरु" बनाएर अगुवा बनेका हुन् । समाजका अगुवा, राजनीतिका अगुवा, मुलुककै अगुवा । अरूले लगाएको बाली आफ्ना ढुकुटीमा पार्न सक्ने अगुवा बनेका छन् । अगुवा हुनु भनेको बाली चर्नु हो । चरेर बचेको बालि ढुकुटीमा पार्नु हो । उनीहरू त्यसै गरि रहेछन् । हामी जोतिइ रहेछौ । हामी गोरु हैनौ, तर हामी गोरु जस्तै हौ । हामीलाई जोती रहेछन् । अझ गोरु र हामीमा यो पनि फरक छ-हामी जोतिन्छौ । घाँस अगुवाहरू खान्छन् । गोरुले त अलि अली घाँस र कुँडे पनि भेट्छ । हाम्रो त कुँडे पनि अगुवाको भाग लाग्छ । 
शिप र समर्थले मान्छेलाई हिमालमा पुर्याहउदो रहेछ । कुरा गर्ने, ढाँट्ने, छल्ने, बटुल्ने, तर्क गर्ने , ढिपी गर्ने, जिद्दी गर्ने शीप भएपछि मान्छे कहाँबाट कहाँ पुग्दो रहेछ । मैले यी कुरा, आर्जन गरेका तलका इष्टहरूलाई हिमालका बिष्टमा परिणत भएको देखेको छु । अरूको धूलो पुछेर हिड्नेलाई धूलो पुछाउँदै गरेको देखेको छु । गोरु जस्तै जोती रहेका लाई अनगिन्ती गोरु जोताइरहेको भेटेको छु । हिजोका गोरुहरू रातारात बाघ भएर गर्जेको पनि देखेको छु, सुनेको छु । रात भरमै क्रान्ति सम्पन्न भएर उनलाई सिंहासन प्राप्त भएको पनि हेरेको छु । गोरु नै नभए पनि "गोरु" भनेर गाली पाउने म र म जस्ता गोरुले त कहाँ हिमालमा टेक्न पाउनु र ? कहाँ सिंहासन छुन पाउनू ? उनीहरू त एकै क्षण गोरु, केही समय हली, अनि हलीका पनि हली । गोरुहरू त उनकै लागि सधैँ चढी रहेछन् बली । 
अहिले त गोरुको महत्वमा पनि ह्रास आइ रहेछ । गोरुको सट्टामा टीलर आएको छ । ट्याक्टर आएको छ । तै पनि मान्छेले पाउने गालीमा परिवर्तन भएको छैन । गोरुको काम टीलर ट्याक्टरले गरे पनि गाली गर्दा ट्याक्टर र टीलर भनेको सुनेको छैन । गालीमा गोरु नै छाइ रहेछ र गाली गर्नेहरुका मुखमा "गोरु" नै आइ रहेछ । मलाइ लाग्छ, जोत खनको प्रसङ्गमा नयाँ - नयाँ प्रविधि आइ रहे पनि र गोरुले जोत्नुपर्ने काम निमिट्यान्नै भए पनि गालीमा "गोरु" हराउँदैन । बल भएकोले दुब्ला लाइ गोरु भनेर गाली गरि रहेछन् । संस्कृतिको जगेर्ना भनेर पनि टाठो बाठाहरूले सिधा साधालाई जोती रहेछन् । सोझा सिधा र दुब्लाइहरू जोतिइ रहनेछन् , जोतिइ रहने छन्, निरन्तर जोतिइ रहने छन् ।
राजनीतिमा बहुमत र अल्पमतको कुरा हुन्छ । भनिन्छ, बहुमतले शासन गर्छ । अल्पमत विपक्षमा बस्छ । तर मलाइ लाग्छ, कुराका जामामात्र यसरी सिलाइएका हुन्छन् । कहिले पनि बहुमतले शासन गर्दैन । बहुमत शासित हुन्छ । बहुमतका नाममा थोरै मानिसले शासन गर्छन् । धेरै मानिसलाई शासन गर्छन् । दर्शनका कुरा गरेर मिलाए पनि सत्य कुरा यस्तै हो । साम्यवाद होस्, समाजवाद होस्, पूर्ण लोकतान्त्रिक व्यवस्था होस्, वा निरङ्कुशतन्त्र । हुने यस्तै हो । 
शासन गर्नु भनेको जोताउनु हो । शासित हुनु भनेको जोतिई रहनु हो । त्यसैले शासित बनेर धेरै जोतिई रहेछन् । शासक बनेर धेरैले जोताइ रहेछन् । शासितहरू शासकका गोरु हुन् । शासकहरूलाई हली त भन्नु त हुँदैन । उनीहरू हलीका मालिक हुन् । यसरी जोत्ने, जोताउने र जोतिई रहने कार्य चलिरहेछ । चलिरहेछ, चलिरहेछ । चलिरहेछ ।
समय समयमा जोताउनेहरूको स्वरूपमा परिवर्तन हुन्छ । भ्रमको आभूषणले परिवर्तनलाई आकर्षित बनाएको हुन्छ । त्यो आकर्षणको गुणगानमा जोतिई रहने ले धेरै समय बिताइ सकेका छन् । अझै बितिरहेछ । समय नै यस्तो रहेछ, जो आफै दौडि रहन्छ । समयको दौडलाई जोतिनेहरू प्रायश्चित्त बिना हातबाट खुस्काइ रहेछन् । जोताउन सामर्थ्य राख्नेहरु समयलाई हातमा पारेको भ्रममा ढुक्क बनेका छन् । तर उनको त्यो क्षणिक ढुक्क पनि समयको दौडले हिमालबाट फेदीमा झारेको दृश्य जोतिनेहकारु लागि रमाइलै हुन्छ । 
म पनि जोतिदैं छु । जोत्नेहरूले, जोताउनेहरुले जोत्दै छन् । गोरु जत्तिको हुन नसके पनि जोताउनेहरु जस्तो बेइमान बनेको छैन । जोताउनेहरु अझै मलाइ गाली गर्दैछन् । "गोरु" भन्दै छन् । म गोरु नै त हुन सकेको छैन भाग्न पनि सकेको छैन । भनी दिने गर्छु, म "गोरु" हुँ , तर गोरु नै त हैन । गोरु जस्तै हुँ । बल्ल बुझेको छु, सबै जोतिनेहरु "गोरु" हुदा रहेन छन् । सबै जोत्नेहरू हली पनि हुँदा रहेन छन् । 
कसैलाई मलाइ गाली गर्न रहर छ भने धक फुकाएर "गोरु" भने हुन्छ । म गोरु नभए पनि गोरु जस्तै त हुँ । मलाइ लाग्छ - संसारभरिका जोतिनेहरु गोरु नै हुन् । त्यसैले म पनि गोरु हुँ । २०७० माघ

लिला उदासी, चारपाने - १, बिर्तामोड।
साहित्य संसार मा प्रकाशित

Post a Comment

कृपया हजुरहरुको सुझाव-सल्लाह चाहन्छौं ।

[facebook][blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.